अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण
काठमाडौँ, । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता जनाएका छन्
शनिबार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए । उनले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको बताए ।
गृहमन्त्री खाँणले नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताए । उनले सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताए । गृहमन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्नेपनि बताए ।
उनले भने, ‘नेपालमा अपाङ्गहरुको संख्या पनि धेरै छ । अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने ? भन्ने ठूलो कुरा हो । पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको छ । त्यो अपुग होला तर हाम्रो बजेट अनुसारको छ । हामीले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी छ । आर्थिक रुपमा, बेरोजगार भएर जो कमजोर छ, त्यसलाई कसरी माथि उठाउने ? हामीले अपाङ्गता भएकाहरुको लागि पनि सोच्नुपर्छ र जिममेवारी लिनुपर्छ भन्नेकुराको बच्चाकालदेखि नै स्कुलिङ हुन जरुरी छ । अहिले नेपाल सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने हामीले निर्देशन दिइसकेका छौँ । हाम्रो आधुनिक कार्यालय पनि अपाङ्गमैत्री छैन । सावर्जनिक स्थलमा अपाङ्गमैत्री शोचालयको पनि खाँचो छ । सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको छ । नेपाल सरकारले अपाङ्गका लागि पनि बजेटको भोलम बढाउने छ । यसको लागि हामी पहल गर्नेछौँ ।’


