७ आश्विन २०८३, बुधबार

निर्वाचन क्षेत्र फेरि रहने उपेन्द्र यादव सप्तरी बाट किन डराए ?

एसीपी संवाददाता

१५ भाद्र २०७९, बुधबार ०८:१२ मा प्रकाशित

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले साउन २० गते सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरे।

अघिल्लो दिन भर्चुअल माध्यमबाट बसेको जनमत पार्टीको बैठकले राउत सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेको थियो।

मधेस प्रदेसको राजधानी जनकपुरधाममा बसेर राजनीतिक गतिविधि अगाडि बढाइरहेका राउतको सप्तरी गृह जिल्ला हो।

गृह जिल्ला र पकडका हिसाबले आगामी निर्वाचनका लागि उनले त्यो निर्वाचन क्षेत्र रोजेका हुन्।

जनमत पार्टीका अध्यक्ष राउतले चुनाव लड्ने भनिरहेको सप्तरी २ बाट २०७४ सालको प्रतिनिधिसभामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।

तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उनले २१ हजार ६२० मत ल्याएर नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवलाई पराजित गरेका थिए।

उमेशले ११ हजार ५८० मत ल्याएका थिए। उनको त्यो मतमा नेकपा एमालेको पनि भाग छ। किनभने त्यतिबेला एमाले र माओवादी केन्द्र तालमेल गरेर देशभर चुनाव लडेको थियो।

कांग्रेसले सकलदेव सुतिहारलाई उम्मेदवार बनाए पनि अन्तिम समयमा उपेन्द्रलाई समर्थन गर्ने निर्णय ग¥यो। पार्टीका शीर्ष नेताहरूका निर्देशनअनुसार सुतिहारले उनलाई समर्थन गरेका थिए।

त्यस्तै त्यो निर्वाचनमा तत्कालीन फोरम र राजपाबीच गठबन्धन भएको थियो। उपेन्द्रले पाएको मतमा तत्कालीन राजपा (हाल लोसपा) को मत पनि छ।

तर पनि कांग्रेसका केही मतदाताले सुतिहारलाई मत हाले। उनले १ हजार ८४० मत पाएका थिए। अर्थात् कांग्रेस मतदाताहरूले पनि उपेन्द्रलाई मत हालेका थिए।

जनमत पार्टीले अध्यक्ष राउत सप्तरी २ बाट निर्वाचन लड्ने निर्णय गरेको दुई दिनपछि साउन २२ गते जसपा अध्यक्ष उपेन्द्रसँग भएको भेटवार्ताको तस्बिर सार्वजनिक गर्‍यो।

जनमतले त्यही दिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर र राउतबीच भएको भेटवार्ता भएको तस्बिर पनि सार्वजनिक गरेको थियो।

केही हप्ताअघिको भेटवार्ता भनेर राउतको सचिवालयले तस्बिर सार्वजनिक गर्दै ‘उपेन्द्र यादवजी आफ्नो निर्वाचन क्षेत्र बदल्दै आउनुभएको छ। उहाँ पहिले मोरङ, पछि सुनसरी र त्यसपछि सप्तरी आउनुभएको हो। यसपालि सप्तरीबाट लड्नु हुन्न भनेर चर्चा हुँदै आएको छ। उपेन्द्र यादवजी र लोसपा अध्यक्ष महन्थ ठाकुरजीसँग केही दिन अगाडि डा.राउतको निकै सकारात्मक भेटघाट भएको हो। उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा.राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छ’ भनेको थियो।

जसपा अध्यक्ष उपेन्द्र र लोसपा अध्यक्ष ठाकुरसँग भएको भेटवार्तापछि मात्रै जनमतका अध्यक्ष राउत सप्तरी २ बाट निर्वाचन लड्ने निष्कर्षमा पुगेको यी घटनाक्रमहरूबाट प्रष्ट हुन्छ।

राउतले पनि सप्तरी २ बाटै चुनाव लड्ने भएपछि उपेन्द्रले के गर्लान् चासोको विषय बन्यो। अहिले पनि छ।

दुवै एकअर्काविरूद्ध लड्लान् वा उपेन्द्रले फेरि निर्वाचन क्षेत्र परिवर्तन गर्लान्? यसको जवाफ पाउन त केही दिन कुर्नैपर्ने हुन्छ। तर, जसपा बाराले गरेको एक निर्णयले विगतजस्तै उपेन्द्रको क्षेत्र परिवर्तन गर्ने सम्भावनालाई बढाइ दिएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जसपा अध्यक्ष उपेन्द्रको नाम बाराबाट सिफारिस भएको छ।

उनको नाम बारा क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।

पहिले निर्वाचित भएको ठाउँबाट लड्न नचाहे उनी बारा २ बाट लड्नसक्ने गरी नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष लालबाबु सिंहले जानकारी दिए।

उनको नाम सिफारिस भएकै क्षेत्रबाट जसपा नेता रामसहायप्रसाद यादव र प्रयागराय वदको नाम पनि सिफारिस भएको छ।

२०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट रामसहाय निर्वाचित भएका थिए। गठबन्धनको सरकारमा उनी वनमन्त्रीसमेत भए।

रामसहायले २८ हजार १८५ मत पाउँदा कांग्रेसका राधेचन्द्र यादव १५ हजार ७९० मत ल्याएर पराजित भएका थिए।

त्यस्तै तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाको १० हजार ५४६ मत थियो।

त्यो चुनावमा तत्कालीन फोरम र लोसपा तथा एमाले र माओवादी केन्द्रले तालमेल गरेको थियो।

अहिले उपेन्द्र नेतृत्वको जसपा सत्ता गठबन्धनमा आवद्ध छ भने एमालेबाट अलग भएर नेकपा(एकीकृत समाजवादी) बनेको छ।

अघिल्लो निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा सप्तरी २ वा बारा २ दुवै क्षेत्रबाट गठबन्धनका कुनै पनि दलका उम्मेदवारले जित निकाल्न सहज देखिन्छ।

तर, सप्तरीबाट चुनाव लडे उपेन्द्रलाई गृह जिल्ला भएको जनमत पार्टीका अध्यक्ष राउतले बलियो चुनौति दिनसक्ने कतिपयको विश्लेषण छ। त्यसैले सप्तरीबाट चुनाव जित्न सम्भावित जोखिमलाई हेरेर नै उपेन्द्रको नाम बाराबाटसमेत सिफारिस गरिएको बताइएको छ।

निर्वाचन क्षेत्र फेरिरहने उपेन्द्र

२०६२ / ६३ को दोस्रो जनआन्दोलन र पहिलो मधेस आन्दोलनपछि संविधानसभा निर्वाचनको घोषणा भयो।

२०६४ चैत २८ गते सम्पन्न भएको पहिलो संविधानसभा निर्वाचन उपेन्द्रले मोरङ ५ र सुनसरी ५ बाट लडे। र, दुवैबाट जिते।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा फेरि त्यही दुवै जिल्लाबाट उठे, मोरङमा हारे, सुनसरीमा जिते।

भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका उनले प्रतिनिधिसभा पुग्ने प्रस्थान विन्दुलाई २०७४ को निर्वाचनमा परिवर्तन गरे।

गृह जिल्ला सुनसरीभन्दा बढी पत्यार उनलाई सप्तरीमा लाग्यो। र, २०७४ को प्रतिनिधिसभा निर्वाचन सप्तरी क्षेत्र नम्बर २ बाट लडे। जिते पनि।

यसबीचमा उनी धनुषाबाट चुनाव लड्ने चर्चा पनि चल्यो। तर, धनुषाबाट सिफारिस भएका चारमध्ये कुनै पनि क्षेत्रमा उनको नाम परेको छैन। त्यसैले उनी धनुषाबाट चुनाव लड्ने सम्भावना लगभग अन्त्य भइसकेको छ।

पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गरिरहने उपेन्द्रले आगामी निर्वाचनमा के गर्लान् त्यो हेर्न बाँकी छ। तर, बाराबाट नाम सिफारिस भएपछि हरेक चुनाव जस्तै उपेन्दले क्षेत्र परिवर्तन गर्ने सम्भावना पति उत्तिकै छ।

साथै जनमत पार्टीका अध्यक्ष राउतको सचिवालयले ‘उपेन्द्रसँगको भेटलाई सकारात्मक भन्दै अर्को क्षेत्र रोजेर राउतलाई सघाउने’ गरेको दाबीले पनि उनको क्षेत्र परिवर्तन गर्ने सम्भावनालाई बढाइदिएको छ।

यद्यपि आफू कहाँबाट चुनाव लड्ने भन्नेबारे उपेन्द्र हालसम्म मुख खोलेका छैनन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x