७ आश्विन २०८३, बुधबार

तालमेल मिलाउने जिम्मा पाएका नेता नै पार्टी परित्याग गर्न थालेपछि

एसीपी संवाददाता

२ आश्विन २०७९, आईतवार २३:४२ मा प्रकाशित

काठमाडौं-  भदौ २७ गते जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य रूही नाज एमाले प्रवेश गरिन्।

. त्यही दिन जसपाकै प्रदेससभा सदस्य अञ्जुकुमारी यादव पनि एमाले प्रवेश गरिन्।

प्रतिनिधिसभा र प्रदेससभाको कार्यकाल सकिनु एक दिनअघि जसपाकी प्रदेस सांसद डा.रीना यादव पनि एमालेतिर लागिन्। तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रदेस सांसद बनेकी उनी दल विभाजपछि उपेन्द्र यादव नेतृत्वको जसपा रोजेकी थिइन्।

. मधेस प्रदेसका अर्का सांसद प्रल्हाद गिरी पनि एमाले प्रवेश गरिसकेका छन्। पर्साबाट निर्वाचित गिरी तत्कालीन राजपाबाट प्रदेससभा सदस्यमा निर्वाचित भएका थिए। दल विभाजन हुँदा उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका थिए।

. एमाले अध्यक्ष केपी शर्मा ओली भदौ २७ गते जनकपुर पुगेकै दिन धनुषा कांग्रेसका उपसभापति सन्तोष यादव पनि एमाले प्रवेश गरे।

धनुषा कांग्रेसका पूर्वउपसभापतिलाई छाडिदिने हो भने एमाले प्रवेश गर्नेहरूमा अधिकांश मधेसलाई आधार बनाएर राजनीति गर्दै आइरहेको जसपा र लोसपाका नेताहरू छन्।

प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेसमा ‘दल बदल’ को क्रम बढेको छ। र, त्यही कडीमा जुड्दै छन् लोसपाका नेता उमाशंकर अरगरिया।

लोसपाका प्रमुख सचेतक रहेका अरगरिया पनि केही दिनपछि एमाले प्रवेश गर्न लागेका छन्। ८ असोजमा एमाले प्रवेश गर्ने उनको तयारी छ। अरगरियालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आफैं जनकपुर जान लागेका छन्।

‘आज जनकपुर जाँदै छु, ८ गतेसम्म उतै बसिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर जाने कार्यक्रम छ,’ आइतबार अरगरियाले आयोमेलसँग भने,‘अब पार्टी प्रवेशपछि मात्रै काठमाडौं फर्किने छु।’

अरगरियासँगै जसपा र लोसपाका अरू नेताहरू पनि एमाले प्रवेश गर्न संवादमा रहेको बताइएको छ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अरगरिया तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए। जसपा विभाजनका बेला उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजे।

तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यमध्ये लोसपा रोज्ने अरगरिया एक्ला सांसद थिए।

आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि अरू दलसँग तालमेल गर्न लोसपाले वार्ता समिति गठन गरेको थियो। त्यो वार्ता समितिका संयोजक पनि अरगरिया नै थिए।

पछिल्लो समय उनले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा तालमेल गर्न कतिपय साना दलहरूसँग छलफलसमेत अगाडि बढाएका थिए।

टिकट नपाउने सम्भावना देखेपछि नेताहरूले दल ‘अदल बदल’ गरेको पाइएको छ। अरगरियाले भने लोसपाबाट टिकट पाउने निश्चित नै थियो। धनुषा क्षेत्र नम्बर २ बाट लोसपाले उनको एकल नाम सिफारिस गरेको थियो।

तर, तालमेलका लागि सहमति जुटाउन लोसपाले गठन गरेको वार्ता समितिका संयोजक रहेका अरगरिया आफैं एमाले प्रवेश गर्ने निर्णयमा पुगेका छन्।

पार्टीमा बस्नसक्ने अवस्था नै नभएपछि आफू एमाले प्रवेश गर्न लागेको अरगरियाले बताए। उनी भन्छन्,‘एक डेढ वर्षसम्म केन्द्रीय समिति गठन भएन। जिल्ला समिति पनि गोजीबाटै बनाइयो। स्थानीय चुनावमा टिकट वितरण गर्न पनि केही नेताको ‘मोनोपोली’ देखियो। अहिले समानुपातिक सिफारिस गर्न पनि नातागोता र पैसाको खेल। पार्टीमा बस्नसक्ने अवस्था नै भएन।’

मधेसको माग र मुद्दा छाडेर आफूलाई मधेसवादी भन्ने दलहरू व्यापारमा उत्रिएको अरगरियाको आरोप छ। माग र मुद्दालाई छाडेर व्यापारमा उत्रिएपछि आफू एमाले प्रवेश गर्न लागेको उनको जिकिर छ।

‘पहिलेको मधेसवादी दलहरू नै रहेनन्। मधेसको माग र मुद्दादेखि कुनै मतलब छैन। व्यापारसँग मात्रै मतलब छ,’ अरगरिया भन्छन्,‘पैसावाला चाहे त्यो व्यापारी होस् वा ठेकेदार उनीहरूकै बर्चस्व छ। चुनाव आएपछि मधेसवादको राग अलाप गर्ने। त्यसपछि व्यापार गर्ने परिपाटी सुरू भएको छ।’

मधेस प्रदेसमा मधेसवादी दलकै नेतृत्वमा सरकार छँदा पनि कुनै ठोस कार्यक्रम आउन नसक्नु पनि उनीहरूको भनाइ र गराइको अन्तर छर्लङ्ग भएको उनको भनाइ छ।

अरगरियाले मधेसवादी दलले मधेसीको भोट लिएर समानुपातिकतर्फका सिटहरू बिक्रि गरेर गैरमधेसीलाई दिने गरेको आरोप लगाए। आफूलाई मधेसवादी भन्ने दलहरूले मधेसवादलाई समाप्त पारेको उनको दाबी छ।

‘मधेसवादको नारा लगाउने तर मधेसवादलाई समाप्त पारिदिएका छन्। जातिवादको चंगुलमा फसेका छन्,’ अरगरिया भन्छन्,‘कोही यादवको, कोही ब्राम्हणको, कोही साहुजीको र कोही थारूको पार्टी भन्छन्।’

आगामी दिनमा मधेस केन्द्रित दलहरू विलीन हुने बाटोमा अगाडि बढिरहेको उनको दाबी छ।

पहिलो मधेस आन्दोलनदेखि मधेसको राजनीतिमा उनी सक्रिय भए। जनकपुर र त्यस आसपासमा भएका सबै आन्दोलनमा उनको सक्रियता रहेको थियो। मधेस आन्दोलन गरिरहँदा ‘केपी ओलीलाई मधेसविरोधी’ भन्नेहरूको भीडमा अरगरिया आफैं पनि हुन्थे।

तर, आफैंले ‘मधेसविरोधी’ भनेका तिनै ओलीबाट टिका लगाएर एमाले प्रवेश गर्ने अन्तिम तयारीमा छन्, अरगरिया।

तीन वर्षको कार्यकालमा ओलीले देश निर्माणका लागि लिएको बाटोबाट प्रभावित भएर आफूले एमाले रोजेको उनले बताए।

अरगरिया भन्छन्,‘हामी पनि सुरूमा विरोध नै गरेका हौं। तर तीन वर्षको दौरान उहाँले देशमा विकासको लहर ल्याउनुभयो। अहिले अर्थ व्यवस्था धारासायी भएको छ। विकासको गतिमा ब्रेक लागेको छ।’

उनले देशलाई केपी ओलीले मात्रै बचाउनसक्ने दाबी गरे। देशको विकास भए मधेसले पनि विकास गर्ने उनको भनाइ छ।

मधेसको माग र मुद्दालाई स्थापित पार्टीले मात्रै सम्बोधन गर्नसक्ने भएकाले मधेस केन्द्रित दलमा बसिरहनुको औचित्य आफूले नदेखेको अरगरियाले बताए।

जसपा विवादका बेला महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सामेल हुँदा अरगरिया पनि मन्त्री बनेका थिए। पार्टीले युवा तथा खेलकुद मन्त्रीका लागि सिफारिस गरेपछि उनी सरकारमा जान तयार भएका थिएनन्।

पछि तत्कालीन प्रधानमन्त्री ओलीकै सिफारिसमा अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए।

यद्यपि सर्वोच्चको आदेशपछि अरगरियालगायतका मन्त्रीहरू १९ दिनपछि सरकारबाट बाहिरिनुपरेको थियो।

आगामी निर्वाचनमा बढीभन्दा बढी सिट जित्न दलहरू तालमेल र रणनीति बनाउन कसरत गरिरहँदा अरगरिया भने मधेस केन्द्रित दलहरू एक सिट पनि नजित्ने दाबी गर्छन्।

‘गठबन्धन नगरेर एक्लै चुनाव लडे मधेस केन्द्रित दलहरूले एक सिट जित्न पनि मुश्किल छ,’ अरगरिया भन्छन्,‘पछिल्लो समय उनीहरूले गरेको क्रियाकलापका कारण चुनाव जित्न कठिन छ।’

दल परिवर्तन गर्ने तयारी थालेपछि लोसपाका कतिपय नेताहरूले अरगरियालाई ‘अवसरवादी’ भनेका छन्। ‘आफ्नो आवश्यक्ताअनुसार दल परिवर्तन गर्ने उहाँको पुरानो बानी हो। अहिले एमालेमा जाने कुरा आएको छ। यो ‘अवसरवादी’ चरित्र हो,’ लोसपाका एक नेताले भने।

तर, अरगरिया भने आफूमाथि लागिरहेको ‘अवसरवादी’ को आरोप अस्वीकार गर्छन्। यो आरोप निराधार रहेको उनको दाबी छ।

‘पैसाको चलखेल गर्ने अवसरवादी कि म? टिकट बिक्रि गर्ने अवसरवादी कि म? समानुपातिकबाट निर्वाचित गराउन कैयौं ठाउँमा पैसाको बार्गेनिङ भएको छ,’ अरगरिया भन्छन्,‘पार्टीमा लगानी गर्नेलाई किनारा लगाउने अवसरवादी कि अरू? आफू प्रत्यक्षमा र श्रीमतीलाई समानुपातिक गर्ने अवसरवादी कि म? मैले अवसरवाद देखाएको एउटा प्रमाण देखाइदिन मेरो चुनौति छ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x