८ आश्विन २०८३, बिहीबार

मधेस विरोधीको बिल्ला भिडाउने नै बनाउँदैछन् ‘मसिहा’

एसीपी संवाददाता

१० आश्विन २०७९, सोमबार ०९:२९ मा प्रकाशित

काठमाडौं- दोस्रो जनआन्दोलनको सफलतालगत्तै सुरू भएको मधेस आन्दोलनका बेला आन्दोलनकारीहरूको भीडमा एउटा अनुहार हुन्थ्यो, उमाशंकर अरगरिया।

निधारमा कालोपट्टी बाँधेर आन्दोलनको अग्रमोर्चामा हिँड्ने अरगरिया क्रान्तिकारी देखिन्थे।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट मधेसको राजनीतिमा प्रवेश गरेका उनी पछि विजय गच्छेदारसँग मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) प्रवेश गरे।

फोरम लोकतान्त्रिकमा उनको यात्रा लामो भएन। फेरि उपेन्द्रसँगै फर्किए।

संविधान निर्माणका बेला दोस्रोपटक भएको मधेस आन्दोलनमा पनि सक्रिय थिए, अरगरिया।

६ महिनासम्म चलेको दोस्रो मधेस आन्दोलनमा अरू आन्दोलनकारीसँगै सडकमा देखिन्थे, उनी। संविधान निर्माणप्रति मधेस केन्द्रित दलहरूको असन्तुष्टि थियो।

आफूहरूले उठाएको माग र मुद्दा सम्बोधन नगरी ठूला दलहरू संविधान जारी गर्न लागेको भनेर उनीहरू सडकमा थिए।

त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेसप्रतिको टिप्पणीका कारण विरोधका स्वरहरू झनै चर्को भइरहेको थियो। मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताले ओलीको विरोधमा लगाउने चर्का नाराहरू त्यतिबेला समान्य बनिसेको थियो।

यहाँसम्म कि मधेस केन्द्रित दलका नेता–कार्यकर्ताहरूले चोकचोकमा एमाले निषेधित क्षेत्रको पोस्टर टासेर ओलीलाई मधेस प्रवेश गर्न नदिने उर्दी नै जारी गरे।

त्यति बेलाको माहोल हेर्दा लाग्थ्यो मधेस केन्द्रित दल र मधेसका लागि सबैभन्दा ठूला ‘शत्रु’ ओली नै हुन्।

२०७४ सालको निर्वाचनका बेला मधेस केन्द्रित दलहरूले ओलीलाई मधेसको सबैभन्दा ठूलो विरोधीका रूपमा चित्रित गरे।

चारैतिर आफ्नो विरोध भइरहेको देखेपछि त्यो चुनावमा ओली चुनावको ‘क्याम्पेनिङ’ का लागि मधेस झर्न पाएनन्।

संघीयता, स्वायत्त मधेस प्रदेसका साथै मधेस केन्द्रित दलहरूले त्यतिबेला उठाएको मागहरूमध्ये अर्को प्रमुख थियो, नागरिकता समस्याको समाधान।

मधेस आन्दोलनका बेला ओलीको विरोधमा चर्को नारा लगाउनेमध्येमा अरगरिया पनि सामेल थिए। तर, तिनै अरगरिया अहिले एमाले प्रवेश गरेका छन्।

२०७४ सालको निर्वाचनमा उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबाट धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए। जसपा विवादका बेला उनले महन्थ ठाकुर नेतृत्वको लोसपालाई रोजे।

उनी शनिबारमात्रै एमाले प्रवेश गरेका हुन्।

अरगरियालाई पार्टी प्रवेश गराउन ओली आफैं धनुषा पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि एमालेबाहेकका सबै दल एक ठाउँमा उभिएका बेला अरगरिया एमाले प्रवेश गरेका हुन्।

मधेस आन्दोलनमा सक्रिय भएका मध्ये एमाले प्रवेश गर्ने अरगरिया एक्ला नेता होइनन्।

यसबीचमा मधेसलाई आधार बनाएर राजनीति गरिरहेका जसपा र लोसपाका प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यहरू नै एमाले प्रवेश गरिसकेका छन्।

भदौ २७ गते जसपाकी प्रतिनिधिसभा सदस्य रूही नाज एमाले प्रवेश गरिन्। त्यही दिन जसपाकै प्रदेससभा सदस्य अञ्जुकुमारी यादवले पनि एमाले रोजिन्।

प्रतिनिधिसभा र प्रदेससभाको कार्यकाल सकिनु एक दिनअघि जसपाकी प्रदेस सांसद डा.रीना यादव पनि एमालेतिर लागिन्।

तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रदेस सांसद बनेकी उनी दल विभाजपछि उपेन्द्र यादव नेतृत्वको जसपा रोजेकी थिइन्।

मधेस प्रदेसका अर्का सांसद प्रल्हाद गिरी पनि एमाले प्रवेश गरिसकेका छन्। पर्साबाट निर्वाचित गिरी तत्कालीन राजपाबाट प्रदेससभा सदस्यमा निर्वाचित भएका थिए। दल विभाजन हुँदा उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका थिए।

कुनैबेला प्रवेशमा ‘निषेध’ गर्ने उर्दी जारी गरेका तिनै मधेस केन्द्रित दलका नेताहरू मधेसमा सक्रिय हुन अहिले सहज बनाइदिएका छन्, ओलीलाई।

मधेस आन्दोलनका बेला ‘शत्रु’ देखिरहेका मधेस केन्द्रित दलका नेताहरू अहिले ओलीलाई ‘मसिहा’ को रूपमा प्रस्तुत गर्न थालेका छन्। मधेसमा उनलाई स्वागत र एमाले प्रवेश गर्न मधेसकै नेताहरू आतुर देखिन्छन्।

एमाले प्रवेश गरेका मधेस केन्द्रित दलका नेताहरू ‘मधेसवादी भनिने दलहरू व्यापारमा उत्रिएको’ आरोप लगाउँछन्।

मधेस केन्द्रित दलहरू माग र मुद्दालाई छाडेर व्यापारमा उत्रिएपछि एमाले प्रवेश गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

‘पहिलेको मधेसवादी दलहरू नै रहेनन्। मधेसको माग र मुद्दादेखि कुनै मतलब छैन। व्यापारसँग मात्रै मतलब छ,’ अरगरिया भन्छन्,‘पैसावाला चाहे त्यो व्यापारी होस् वा ठेकेदार उनीहरूकै बर्चस्व छ। चुनाव आएपछि मधेसवादको राग अलाप गर्ने। त्यसपछि व्यापार गर्ने परिपाटी सुरू भएको छ।’

आफूलाई मधेसवादी भन्ने दलहरूले मधेसवादलाई समाप्त पारेको उनको दाबी छ।

‘मधेसवादको नारा लगाउने तर मधेसवादलाई समाप्त पारिदिएका छन्। जातिवादको चंगुलमा फसेका छन्,’ अरगरिया भन्छन्,‘कोही यादवको, कोही ब्राम्हणको, कोही साहुजीको र कोही थारूको पार्टी भन्छन्।’

तीन वर्षको कार्यकालमा ओलीले देश निर्माणका लागि लिएको बाटोबाट प्रभावित भएर आफूले एमाले रोजेको उनले बताए।

अरगरिया भन्छन्,‘हामी पनि सुरूमा विरोध नै गरेका हौं। तर तीन वर्षको दौरान उहाँले देशमा विकासको लहर ल्याउनुभयो। अहिले अर्थ व्यवस्था धारासायी भएको छ। विकासको गतिमा ब्रेक लागेको छ।’

उनले देशलाई केपी ओलीले मात्रै बचाउनसक्ने दाबी गरे। देशको विकास भए मधेसले पनि विकास गर्ने उनको भनाइ छ।

जसपाकै प्रदेससभा सदस्य अब्दुल रहिम अन्सारी पनि एमाले प्रवेश गरेका छन्। शनिबार धनुषामा आयोजित कार्यक्रममा मञ्जुरलाई पनि एमाले अध्यक्ष ओलीले प्रवेश गराए।

२०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३(१) बाट प्रदेससभा सदस्यमा निर्वाचित भएका उनको नाम जसपाले आगामी निर्वाचनका लागि पनि सिफारिस गरेको थियो।

मधेस आन्दोलनको सफलतापछि देश निर्माणका लागि राष्ट्रिय पार्टी एमालेमा गएको उनको भनाइ छ। क्षेत्रीय र जातीय पार्टीभन्दा माथि उठ्न नसकेको मञ्जुर बताउँछन्।

जसपामा बसेर देश बनाउन नसकिने उनलाई लागेको छ।

‘जसपा क्षेत्रीय र जातीय पार्टीबाट माथि उठ्न सकेन। जसपामा रहेर देश बनाउन सकिन्न भन्ने लाग्यो, भविष्य देखिएन,’ उनी भन्छन्। आयोमेल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x