३ असार २०८३, बुधबार

कर्णालीको बाढीले राजापुरका बस्ती डुबान, सयौं परिवारहरु विस्थापित

एसीपी संवाददाता

२५ आश्विन २०७९, मंगलवार १२:२२ मा प्रकाशित

बर्दिया । बाढीले गर्दा राजापुर नगरपालिका वडा नम्बर १ चनौरामा ४५ घर, वडा नम्बर ७ बाजुरेली टोलमा ३६ घर र वडा नम्बर ३ चक्कापुर नर्सरी पूर्व २९ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । बाढीका कारण सयौं परिवारहरु प्रभावित बनेका छन् । घरमा बाढी पसेकाहरु उच्च ड्याम लगायत आफन्तका घरहरुमा आश्रय लिएको उनले बताए ।

बाढीबाट मानविय तथा भौतिक क्षति भएको छैन। सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले बोटमार्फत बाढीमा फसेकाहरुको उद्धार गरेका छन् । बेमौसमी बर्षाका कारण आएको बाढीले राजापुर क्षेत्रमा डुबान गरेपछि नदी तटिय क्षेत्रका स्थानियहरु पीडित बनेको राजापुर नगरपालिका दौलतपुर निवासी लोकराज ढुँगानाले बताए । उनले भने,‘दौलतपुरको अधिकांस भुभाग डुबान भएको छ । डुबानमा परेका स्थानियहरु रातभर नसुती भोकभोकै बस्नु बाध्य भयौं ।’

चनौरा र भदाली नालाबाट पसेको पानीले दौलतपुर क्षेत्रमा ७,८ सय घरपरिवार प्रभावित भएका छन् । उनले भने,‘नदीको सतह खतराको तह पार गरी १२ मिटर नाघेपछि बस्ती डुबानमा पर्‍यो ।’ राजापुरतर्फ कर्णाली नदी तटिय क्षेत्रमा बसोवास गर्ने स्थानियहरु बर्षेनी बाढीको चपेटामा पर्ने गरेको दौलतपुर निवासी स्थानिय भोजराज जोशीले बताए ।

‘बाढीका कारण दौलतपुर टोल, मुर्गहवा, तिघ्रा, टिउनी लगायतका क्षेत्र जोखिममा छ । नदीको दीगो ब्यवस्थापन हुनु पर्‍यो । अन्यथा यहाँका बस्तीहरुलाई पुर्नस्थापन गर्नुपर्छ ।’ उनले भने,‘विपन्न पिडितहरुले राहत पनि पाउँदैनन् । भोकभोकै बाढीको त्रासमा रात गुजार्नुपर्छ ।’ यसका लागि सरकारले जनउत्तरदायी बनेर काम गर्न सुझाए ।

केही दिन अघि बबई नदीमा आएको बाढीले तटीय क्षेत्रका बालापुर, मुक्तिनाथ टोल, सूर्यगौडी, बान्धुपुर खल्ला लगायतका क्षेत्रमा डुबान गरेपछि सयौं घर प्रभावित बनेका छन् । बबई नदीमा पटक(पटक बाढी आएपछि स्थानियहरु हैरान परेका छन् । बबई नदीमा आएको बाढीका कारण पाक्ने अवस्थाका धानवाली लगायत मकैहरुमा क्षति पुगेको छ। कृषि क्षतिको वास्तविक तथ्यांक आउन अझै समय लाग्ने बताइएको छ । यो समाचार अन्नपुर्ण पोष्टमा यादव आचार्यले लेखेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x