७ आश्विन २०८३, बुधबार

ओलीको गल्तीका कारण यति धेरै क्षेत्रमा हार्दैछन् एमाले उम्मेदवार

एसीपी संवाददाता

२७ आश्विन २०७९, बिहीबार ११:०२ मा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान, संसद् र लोकतान्त्रिक प्रणालीमाथि गरेको प्रहारविरुद्ध बनेको सत्ता गठबन्धनले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा जित्‍ने भएको छ। तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले भने आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको गल्तीका कारण पराजित हुने भएको छ।

ओलीले अन्यायपूर्णरुपमा टिकट वितरण गर्दै आफ्नो प्रशंसा र भक्तिगान गाउनेहरुलाई टिकट दिएपछि एमालेकै नेताहरुले विद्रोह गरेर पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने भएका छन्। एकातिर एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन्। आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुनेछ।

अर्कोतर्फ पार्टीबाट बागी उठेर विद्रोह गरेका नेताहरु उम्मेदवार बनेको क्षेत्रमा पनि एमालेको पराजय निश्‍चितजस्तै छ। उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। सत्ता गठबन्धनभित्रको नेकपा एसले उम्मेदवारी दिएका २० र अन्य ३ स्थानमा एमालेले आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। धादिङ, सिरहा, रौतहट, रुपन्देही, सल्यान, उदयपुर, गुल्मी, मकवानपुर, दाङ, बारा, डोटी, इलाम, झापालगायतका जिल्लामा एमालेको पराजय देखिन्छ।

एमाले त्यागेका हरिकुमार रानाले झापा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन्। उनी माओवादीमा प्रवेश गरेपछि देवराज घिमिरेलाई धक्का लागेको छ। रानाले एमालेका चिन्तन पाठकसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। पाठक र राना साथी पनि हुन्। मकवानपुरमा नेकपा एसका विरोध खतिवडासँग एमालेका विद्यार्थी नेता महेश बर्तौलाले प्रतिस्पर्धा गर्दैछन्। अघिल्लो निर्वाचनमा खतिवडाको प्रचारमा हिँडेका बर्तौला अहिले प्रतिस्पर्धामा छन्।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एसका मेटमणि चौधरी र एमालेकी शान्ता चौधरीबीच प्रतिस्पर्धा हुनेछ। पार्टीले शान्तालाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले बागी उम्मेदवारी दिएकी छिन्। इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एसका नेता झलनाथ खनालसँग एमालेका महेश बस्नेतले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।

अघिल्लो पटक बस्नेत खनालको प्रचार समूहमा प्रमुख थिए। उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एसका जगन्नाथ खतिवडा र एमालेका अम्बर रायमाझीको उम्मेदवारी परेको छ। गुल्मीमा एमाले सचिव गोकर्ण विष्टलाई एमालेकै पूर्वनेत्री रामकुमारी झाक्री (नेकपा एस) चुनावी मैदानमा खडा भएकी छन्।

रौतहट ३ मा एमालेकै प्रभु साहले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्। रौतहट १ मा एमाले उम्मेदवारले पार्टीक पूर्वमहासचिव (हाल नेकपा एसका अध्यक्ष) माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। सिरहामा एमालेका पूर्वनेता धर्मनाथ शाह उम्मेदवार ले एमालेका उम्मेदवारलाई चुनौती दिए पनि त्यहाँ एमालेले तालमेल गरेका कारण एमालेको उम्मेदवार छैन।

रुपन्देही–१ मा एमालेका सचिव छविलाल विश्वकर्मालाई पार्टीका पूर्वउपमहासचि घनश्याम भुसालसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आएको छ। अघिल्लो निर्वाचनमा विश्वकर्मा रुपन्देही १ र भुसाल रुपन्देही–३ बाट विजयी भएका थिए। २०७४ सालमा भुसालले राप्रपाका दीपक बोहोरालाई पराजित गरेका थिए। अहिले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनको पनि समर्थन छ। एमालेको नवौं महाधिवेशनबाट भुसाल उपमहासचिव निर्वाचित भएका थिए। १०औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका भुसाल स्थायी कमिटी सदस्यमा मनोनित थिए।

एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा एका राजु गुरुङबीच रुपन्देही २ मा प्रतिस्पर्धा हुनेछ। २०५६ सालको संसदीय चुनावमा पौडेलले पहिलोपटक कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेका थिए। पौडेलले २०६४, ०७० र ०७४ सालको निर्वाचन पनि जितेका थिए। पाल्पा–२ मा एमालेका ठाकुर गैरेले आफ्नै दलका पूर्वनेता सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन्।

पाण्डि नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष हुन्। २०५१ देखि २०७४ सालसम्मका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका पाण्डेले २०६४ सालमाबाहेक निर्वाचन जितेका छन्। त्यस्तै दैलेखमा अमरबहादुर थापा र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ। २०४८ सालदेखि नेकपा एमालेमा आबद्ध शर्मा र थापाले झण्डै २८ वर्ष एउटै पार्टी कमिटीमा रहेर काम गरेका हुन्। तर अहिले दुवै अलगअलग पार्टीबाट उम्मेदवार छन्। शर्मा एमाले छाडेर नेकपा एसमा लागेका हुन्। सर्लाहीमा १ मा पनि एमालेका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै मानबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन्।

मधेस प्रदेशमा प्रभु शाहले एमाले परित्याग गरेसँगै एमालेका उम्मेदवारविरुद्ध प्राय:जसो सबै प्रदेशमा बागी उम्मेदवार उठाएका छन्। ती क्षेत्रमा पनि एमालेका उम्मेदवारहरु आपसमा भिड्दा अर्कोले सहज जित हात पार्ने भएको छ। यसकारण आगामी निर्वाचनमा एमाले अध्यक्ष ओलीकै गम्भीर गल्तीका कारण पार्टीले नराम्रो पराजय भोग्‍ने निश्‍चितजस्तै बनेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x