किशोर उमेरमै राजनीतिमा होमिएका दीपक ‘विकासका संवाहक’
दाङ । स्वेच्छाचारी पारिवारिक शासनलाई उखेलेर फ्याँक्ने दृढ संकल्प अनि शासन सत्ताको सम्पूर्ण बागडोर जनताका प्रतिनिधिहरूकै हातमा रहनुपर्छ भन्ने उत्कट अभिलाषा, परिवर्तनकारी विचार र क्रियाकलापका कारण तत्कालीन अवस्थामा काँग्रेस नेता दीपक गिरीलाई दाङ प्रशासनले आँखी बनाइरह्यो । वि.सं. २०३० सालको कुरा हो, उनी तुलसीपुरस्थित महेन्द्र माविवाट गिरफ्तारीमा परे, आरोप रह्यो प्रजातान्त्रिक आन्दोलनमा सहभागिता । १३ बर्षकै उमेरमा प्रशासनद्वारा गिरफ्तार भई १३ दिनसम्म हिरासतमा बस्नु अहिलेका युवाका लागि सोचनीय विषय हो ।
वि.सं. २०३१ सालमा २९ दिन र २०३७ सालमा ५७ दिन गरी काँग्रेस नेता गिरी दुई दुई पटक अञ्चलाधीशको ठाडो आदेशमा हिरासतमा रहे । वि.सं. २०४६ साल पूर्व प्रशासनको मुख्य निशानामा रहँदै भूमिगत रुपमै पार्टीको काममा सक्रिय भूमिका निर्वाह गरेका गिरीले वि.सं. २०६२/०६३ मा काठमाण्डौको गंगवुमा लोकतन्त्र प्राप्तिको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।
वि.सं. २०१८ साल चैत्र ३ गते वुवा लोकमणि गिरी र आमा छायादेवी गिरीको कोखवाट दाङको सुकदेवामा जन्मिएका दीपक दंगाली राजनीतिको मियो हुन् । प्राथमिक तहको अध्ययन काठमाण्डौस्थित सेन्ट जोसेफ स्कुलमा र मा.वि. तहको अध्ययन दाङ तुलसीपुरस्थित महेन्द्र मा.वि.मा रह्यो भने त्रिभुवन विश्वविद्यालयवाट इतिहासमा उनले स्नातकोत्तर उत्तीर्ण गरे । जनतामाझ जुझारु र विकासप्रेमी नेताका रुपमा स्थापित गिरीको पार्टीगत राजनीतिक यात्रा २०३४ सालमा भारतको गोरखपुरमा नेपाली काँग्रेसको सक्रिय सदस्यता लिएर सुरु भएको हो ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिलिई वि.पी. कोइराला र गणेशमान सिंह काठमाण्डौमा ओर्लदा स्वागतमा सक्रियतापूर्वक खटिने मध्येका एक जना विद्यार्थी नेता गिरी हुन् । वि.सं २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि काँग्रेस नेता गिरीसंग छ ।
२०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य हुँदै पार्टीको केन्द्रिय सदस्यको महत्वपूर्ण जिम्मेवारी बहन गरेको अनुभव उनीसंग छ । नेता गिरीसित २०५१ को मध्यावधि निर्वाचन तथा २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्यका लागि उम्मेदवार तथा २०७० साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा दाङ जिल्ला क्षेत्र नम्वर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएर २०७३ सालमा नेपाल सरकारको सिंचाई मन्त्रीका रुपमा जिम्मेवारी बहन गरेको अनुभव छ ।
आफ्नो मन्त्रीत्वकालमा छोटो अवधिमै पनि सिंचाई क्षेत्रका साथै कृषि, सडक, यातायात, पुलपुलेसा तथा खानेपानी क्षेत्रको विकासका लागि विशेष काम गर्ने मन्त्रीका रुपमा स्थापित नेता गिरी विकासप्रेमी र जुझारु नेताका रुपमा परिचित छन् । दाङलाई लुम्विनी प्रदेशको राजधानी बनाउन, दाङ तुलसीपुरमा उच्च अदालत र संघीय प्रहरि इकाई कार्यालयको स्थापनामा उनले अग्रणी भूमिका खेलेका छन् । दाङ वृहत सिंचाई योजना, प्युठान रोल्पाको माडी तथा माडी नदीको पानीलाई दाङमा ल्याउने, सल्यानको शारदा नदीको पानीलाई दाङमा ल्याउने जस्ता आयोजनाहरुमा उनकै पहलमा शुरु भएका हुन् । 
नदी खोलाहरुमा हाईड्याम बाँध बाँध्ने, ताल तलैयाको संरक्षण गर्ने, पानीका मुहान, कुवाँ, इनारहरुको संरक्षण गर्ने, डिप बोरिङ (भुमिगत जलश्रोत) को विकास गर्ने, लिफ्ट सिंचाई गरी दंगाली मलिलो फाँटलाई अन्न भण्डार जिल्लाका रुपमा स्थापित गर्ने उनका दीर्घकालीन योजना हुन् । फोहरा सिंचाई तथा नयाँ योजनाहरु, बवई नदी र दाङका खोलाहरुलाई गुरुयोजना अनुसार नै उपयोग गरेर कृषि पकेट जिल्लाका रुपमा जिल्लाको विकास र दंगाली कृषकको आयआर्जनमा वृद्धि गरी आम कृषकका सपना साकार पार्ने योजनाहरु गिरीले यसपटक चुनावका एजेण्डाका रुपमा अघि सारेका छन् । आफ्नो मन्त्रीत्व कार्यकालको छोटो अवधिमै यस सम्वन्धि कामको थालनी गरिसकका छन् ।
दाङ–सुर्खेत र दाङ–रुकुम सडकको निर्माण, राप्ती राजमार्गमा कालोपत्रे, दाङ–सल्यानको वैकल्पिक राजमार्गको रुपमा रहेको दोघरे–प्रतापकोट–मख्खनटाकुरी–सल्यानको लुहाम सडक, गोल्टाकुरी बंगलापुर–फुर्केसल्ली मलै हुँदै पुर्व–पश्चिम राष्ट्रिय राजमार्ग जोड्ने सडक, हापुरे गँगटे–धोवाघाट हुँदै कोहलपुर जोड्ने सडक, पवन नगर हेल्थपोष्ट, सुन्दरा देवी मन्दिर हुँदै सल्यान जोड्ने सडक, सुकौरा दाङ चरकमटिया जोड्ने सडक, रंगैचा वागमारे विष्णुपुर सल्यानको हारीचार जोड्ने सडक, पुरन्धारको हापुरे विजय नेटा सल्यान जोड्ने सडक, निर्माणाधीन सुकदेवा ववई वालापुर पवननगर हेल्थपोष्ट देवीस्थान ठाँटीगाउँ काफलठुटा हुँदै सल्यानको ढुङ्गेवगर जोड्ने सडकको कालोपत्रे, पुरन्धारा बगाले चौतारी–दाङको उत्तरी भेगवाट रक्षाचौर आँखा अस्पताल हुँदै हापुर घोराही जोड्ने मार्ग निर्माण एवम् कालोपत्रे गर्नु, ववई नदीको किनारै किनार दामोदर रोडलाई पूर्णता दिनु, मलै–ढोलपुर कोर्वाङ काशीपुर, रगैँचा जुम्लेकुला, भलानेटी, वस्तीखोला, सुन्दरादेवी सडक कालोपत्रे गर्ने लगायतका योजनाहरु काँग्रेस नेता दीपक गिरीका महत्वपूर्ण उपलब्धिहरु हुन् ।
त्यसैगरी पश्चिम दाङको सन्दर्भमा पुरन्धारा छहरा, चमेरे गुफा, सुकौराकोट, राप्ती शान्ति उद्यान प्रसिद्ध छन् भने धार्मिक पर्यटकीय क्षेत्रका रुपमा त्रिमुखेश्वर महादेव मन्दिर, सुन्दरादेवी भगवती मन्दिर, त्रिशिद्धेश्वरी मन्दिर, शितलपुर शिद्धेश्वरी मन्दिर, रतननाथ मठ, भवन्तनाथ मन्दिर, बौद्ध गुम्वा, भूयाँरथान, मस्जिद, चर्च लगायतका विभिन्न कला संस्कृति र सभ्यता तथा इतिहास झल्काउने स्थानहरुको विकास र संरक्षण तथा पर्यटन क्षेत्रको विकास गर्न मिनी चिडियाखाना, इन्धन डिपोको स्थापना गरी टरिगाउँ एयरपोर्टको धावनमार्गको बृद्धि पनि पूर्व मन्त्री दीपक गिरीका कार्यभारहरु हुन् ।
विद्युतको नियमित आपूर्तिका लागि पूर्व पश्चिम राजमार्ग (१३२ के.बी) प्रशारण लाइनबाट हापुरे च्याँटी खोलामा सवस्टेशन निर्माण गरी ३३ के.बी. विद्युत प्रशारण तथा तुलसीपुर क्षेत्रको विद्युत प्रसारणको सुधार एवम् विस्तार गरी सुलभ तरिकावाट नियमित विद्युत आपूर्ति तथा सौर्य एवं नविकरणीय उर्जाको विकासका लागि प्रशस्तै प्रयास भएका छन् । उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस् भन्ने मुलभूत उद्देश्यका साथ तुलसीपुर क्षेत्रमा पहिलो क्याम्पस, राप्ती ववई वहुमुखि क्याम्पस तथा पुरन्धाराको पुरन्धारा बहुमुखी क्याम्पसको स्थापनामा गिरीको महत्वपूर्ण भूमिका छ । प्राविधिक र व्यवसायी शिक्षामा सबैको पहुँच पुगोस् भनेर नै विकासप्रेमी नेता गिरीले जिल्लाका सबै विद्यालयहरुमा कम्प्यूटर तथा इन्टरनेट सेवा सहितको सुविधाका लागि प्रयास गरिरहे । कुनै पनि बालबालिका शिक्षाको अवसरबााट बञ्चित हुन नपरोस् भन्दै सरकारले थालेको कार्यक्रमलाई अझ प्रभावकारी वनाउनका लागि गिरीले थप चिन्ता व्यक्त गर्दै पालिकाहरुसंग सहकार्यको अवधारणा ल्याएका छन् ।

जिल्लामा ठूलो संख्यामा रहेका आदिवासी थारु समुदायको हक अधिकारको रक्षा तथा थारु संस्कृति, परम्परा तथा थारु समुदायमा निहित सीपलाई व्यवसायीकरण गर्दै थारु समुदायका महिलालाई आत्मनिर्भर बनाउने गरी आफ्नो चुनावी एजेण्डा गिरीले अघि सारेका छन् । उसो त जिल्लामा पछि पारिएका दलित, अपांगको बृत्ति विकास एवं विभिन्न धर्मप्रति आस्थावान जनताहरुको धार्मिक परम्परालाई सम्मान गर्दै संरक्षण गर्ने गरी योजनावद्ध श्रृंखला शुरु गर्नुपर्छ भन्ने मान्यता काँग्रेसका लोकप्रिय नेता गिरीको रहेको छ ।
आफू सिंचाई मन्त्री भएका वेला आफ्नो नौ महिने छोटो कार्यकालमा देशव्यापीरुपमा सिंचाईसंग सम्वन्धित परियोजनाहरुको शुरुवात गरेर चर्चा बटुलेका गिरीलाई उनको पार्टी नेपाली काँग्रेसले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा दाङ जिल्ला क्षेत्र नम्वर ३ बाट प्रतिनीधिसभा सदस्यको उम्मेदवारका रुपमा अघि सारेको छ । उनी गठबन्धनका साझा उम्मेदवार हुन् ।



