पक्राउ १८ मध्ये ४ जनामा कोरोना पुष्टि, भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत

रातो मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुङ्मती लैजाने साइत जुरेको छ । सोमबार ललितपुरको मंगलबजारको मणिमण्डप पाटीमा मच्छिन्द्रनाथको ज्योतिषहरुले मूर्तिलाई बुङ्मती फिर्ता लैजाने साइत निकालेका हुन् । भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत जुरेको ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिनुभयो । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउँने सहमतिअनुसार साइत हेरिएको हो । हिजो रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो भने सोमबार ललितपुरका स्थानीयबासीले जात्राको परम्पराअनुसार भुज्या मनाएका छन् । २९ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिने जोशीले जानकारी दिनुभयो । बुङ्मति लगिएको चौथो दिनमा असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । यसै बीच रातो मत्स्येन्द्रनाथ रथ तान्ने विषयलाई लिएर भएको झडपबाट पक्राउ परेका १८ जनामध्ये थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पक्राउ परेकामध्ये २ जनामा संक्रमण देखिएको ललितपुरका सीडीओ नारायण भट्टले बताएका थिए । जावलाखेल प्रहरी परिसरले थप ४ गरी जम्मा ६ जनामा कोरोना पुष्टि भएको जनाएको हो । ‘‘उनीहरुलाई उपचारपश्चात पुनः प्रहरीको सम्पर्कमा आउने गरी घरपरिवारको जिम्मामा लगाएका छौं । प्रहरीले झडपको सिलसिलामा पक्राउ परेका १४ जनालाई सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । ४ जनालाई रिहा गरिसकिएको छ ।



