नेपालको भव्य पुनरागमन
महिना दिनअघिसम्म स्थिति दयनीय थियो तर १२ मध्ये १० खेल सकिँदा नेपालले चामत्कारिक यात्रा तय गरेको छ- ९ वटामा जित निकालेर
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगिएको छैन, अब त्यसमै टिकेर दुई जित निकाल्दै नेपालले अर्को ठूलो उपलब्धि पनि हात पार्न सक्नेछ– विश्वकपको अन्तिम छनोटमा प्रवेश
काठमाडौँ — नेपालले तय गरेको यात्रा विश्व क्रिकेट इतिहासकै दुर्लभ ऐतिहासिक पुनरागमन भन्दा हुनेछ । महिना दिन अघिसम्म स्थिति वास्तवमै दयनीय थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा १२ खेल खेल्न बाँकी छँदा नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय हैसियत बचाउन कठिन देखिएको थियो । तर तिनै १२ मध्ये १० खेल खेलिसक्दा नेपालले चामत्कारिक यात्रा तय गरेको छ– १० मध्ये ९ मा विजयी भएर ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईमाथि १ सय ७७ रनको एकपक्षीय जित निकाल्यो । त्यसको अर्थ नेपालले कम्तीमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगाएको छैन, अब त्यसमै टिकेर अर्को ठूलो उपलब्धि पनि हात पार्न सक्नेछ । त्यो भनेको आफूले खेल्न बाँकी २ खेलमा पनि विजयी बनेर एकदिवसीय विश्वकपको अन्तिम छनोटमा प्रवेश । नेपालले समातेको लयलाई आधार मान्ने हो भने त्यो पूरापूर सम्भव देखिन्छ ।
यूएई भने ७ टिमसम्मिलित लिग २ को अन्तिम दुई स्थानमा रहने निश्चित भएको छ । प्रतियोगिताका बाँकी खेलमा जस्तोसुकै नतिजा आए पनि यूएईको स्थिति फेरिने छैन । टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ ।
लगातार खराब प्रदर्शन गरिरहेको यूएईको ३४ खेलमा ३१ अंक छ । उसको अगाडि अमेरिका ३५ अंकसहित पाँचौं स्थानमा छ । नेपाल भने अमेरिकालाई पनि उछिनेर ३६ अंक बुटल्दै चौथो स्थानमा पुगेको छ । अब नेपालको लक्ष्य भनेको तेस्रो स्थानमा उक्लनका लागि ४ अंक बटुल्ने हुनेछ । नामिबिया ३९ अंकसहित तत्कालका लागि तेस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमान यसअघि नै शीर्ष दुईमा रहने निश्चित हुँदै एकदिवसीय विश्वकप छनोटका लागि योग्य भइसकेका छन् । नेपालको पछिल्लो जितका कारण अमेरिका जोगिएको छ र उसको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहने भएको छ । पपुवा न्युगिनी भने ११ अंक लिएर पुछारमा छ ।


