१३ असार २०८३, शनिबार

कम्युनिष्ट सरकार माथी भरोषा नरहेको दावी

एसीपी संवाददाता

२७ भाद्र २०७७, शनिबार १४:१६ मा प्रकाशित

फाइल तस्बिर

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले यो सरकारले २०७९ मा हुने आम निर्वाचन निष्पक्ष गराउनेमा आफू विश्वस्त नभएको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको वागमती प्रदेशको भर्चुअल बैठकमा बोल्दै थापाले भने, ‘मलाई यो कम्युनिष्ट सरकारले स्वच्छ र निष्पक्ष निष्पक्ष निर्वाचन गराउँछ भन्नेमा विश्वास छैन । यो कम्बोडियामा हुनसेनले गराएको निर्वाचनजस्तो हुनसक्छ । पहिले वामदेवले गराएको चुनाव सम्झिनुस्, त्यस्तै हुनसक्छ ।’

उनले सरकारलाई स्वच्छ र निष्पक्ष निर्वाचन गराउन बाध्य पार्नेगरी कांग्रेसले काम गर्नुपर्ने पनि बताए । यसका लागि कांग्रेसले प्रतिपक्षीको भूमिका राम्रोसँग निर्वाह गर्नुपर्ने पनि बताए । ‘तर हाम्रो पार्टीले र नेतृत्वले प्रतिपक्षीको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्न सकेको छैन,’ उनले भने । थापाले आफ्नो पार्टीको नेतृत्वले विभिन्न नियुक्ति र लेनदेनमा सरकारसँगै लसपस गरेको देखिएको पनि बताए । ‘अब संवैधानिक निकायमा नियुक्तिको कुरा छ । त्यसमा पनि प्रतिपक्षी दलका नेताले चोचोमोचो मिलाएको सुनिन्छ । प्रतिपक्षीको काम अहिले त्यो होइन,’ उनले भने, ‘जसरी सरकार चलाउनेलाई जनता र संविधानले जिम्मेवारी दिएको छ त्यसैगरी प्रतिपक्षीलाई पनि जिम्मेवारी दिएको छ । हामी त्यसबाट चुकिरहेको जनताले बताइरहेका छन् ।’

‘सरकारका असफलता देखिएका छन् । कोरोनाविरुद्ध लड्ने कुरामा सरकारको असफलतादेखि भ्रष्टचारका काण्डहरुले जनता सरकारसँग निराश छन् तर हामीसँग पनि खुशी छैनन् । हामीले जनताका आवाज उठाउनेगरी काम गर्न सकेका छैनौं,’ उनले भने । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको विरोधमा जारी गरेका दुई विज्ञप्तिले तरंग ल्याएको उल्लेख गर्दै भने, ‘संसदमा नरहनुभएका पार्टीका एकजना नेताले रेल र अख्तियारबारे जारी गर्नु भएका विज्ञप्तिले पार्टी पंक्तिदेखि मिडियासम्ममा तरंग ल्यायो । यसरी नै संसदमा प्रतिपक्षी दलको नेता र सिंगो पार्टी पंङ्तिले यस्ता विषयमा बोल्न सकेको भए कस्तो तर‌ंग आउँथ्यो होला ?’

उनले कांग्रेस पार्टी कुनै बेला सामाजिक अभियानका रुपमा रहेको तर अहिले पार्टीले त्यो स्वरुप गुमाएको पनि बताए । ‘हामी सबै कुरामा कांग्रेस खत्तमै भयो, कांग्रेस पहिलेजस्तो भएन भनेर धेरै आत्मआलोचना गर्नु जरुरी छैन तर हामीले सामाजिक अभियानका रुपमा पनि पार्टीलाई जनतासँग जोड्नु आवश्यक छ । आज काठमान्डुमा यत्रा मान्छे कोरोनाका कारण सडकमा आएका छन् । खान नपाउने भएका छन् । घरबार गुमेको छ । ती मान्छेलाई हाम्रो जिल्ला र महानगर कमिटी जोडिन सक्दैन ? तिनलाई सहयोग गर्न सक्दैन ?’ उनले प्रश्न गरे । उनले बीपीको पालमा जस्तो जनतासँग संवाद गर्ने नेतृत्वको अहिले पार्टीमा अभाव भएको पनि बताए ।

उनले यो संविधानबारे धेरै गनगन गर्नुको पनि अर्थ नरहेको बताए । ‘गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हिजोको हिंसा अन्त्य गरेर शान्ति सम्झौता गरेको र संविधान सभा चुनाव गराएकोमा गर्व गर्ने, सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गरेकोमा गर्व गर्ने अनि फेरि अहिले त्यही संविधानका विषयमा गनगन गर्ने ?’ उनले प्रश्न गरे, ‘यो हामीले बनाएको संविधान हो । यसमा केही कमी कमजोरी छन् भने त्यसलाई सच्च्याउने हो । कतिपय कुराहरु समयसँगै सुध्रिदै/प्रष्टिदै जान्छन् ।’

उनले आगामि १४ औं महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउने एजेन्डा रहेको भन्दै यसका एउटै उपाय भएको बताए- विधानको पालना । ‘सभापति विधानअनुसार चल्नुभएको छैन । उहाँ बलमिच्याइले चलिरहनु भएको छ । पार्टीको विधान नमान्ने सभापतिले प्रधानमन्त्रीले संविधान मानेन्न भन्न मिल्छ ?’ उनले प्रश्न गरे । एकपछि अर्को विधान मिच्ने काम भएकाले अविश्वास पैदा भएको पनि उनले बताए । सभार ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x