२०७६ सालदेखि चलिरहेको ‘नेट आर्ट स्टुडियो’का सञ्चालक सम्पर्कविहीन भएपछि कर्मचारी सञ्चय कोषसँग सुन्धारा मल ठेक्कामा लिएको दिवा सपना जेभीले वडा कार्यालयमा निवेदन दिएपछि पसल खाली गराउन यो सूचना टाँसिएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर सम्पर्कविहीन हुनेहरुको संख्या बढ्दै गएको छ ।
विगतमा यस्ता पसल र सटरहरु लाखौं रुपैयाँ सलामी लिएर किनबेच हुने गर्थे भने हाल पसल किन्ने मान्छे नपाउँदा व्यवसाय छाड्नेहरुले त्यत्तिकै खाली गरेर हिँडिरहेका छन् ।
सुन्धारा मलको ‘एराइभिङ फेसन वेयर’का म्यानेजर मनोज धमला पछिल्लो समय व्यवसाय गर्नेहरु निराश बनेको बताउँछन् । उनको सलको स्टकमा २ करोडको सामान थुप्रिएको छ । ‘दिनभरिमा बोहनी गर्न पनि गाह्रो छ,’ उनी भन्छन्,’ पहिले-पहिले दिनको एक लाखसम्म व्यापार हुने ठाउँ सुनसानजस्तै छ ।’

कोरोना महामारीपछि सुस्ताएको व्यापारले अहिलेसम्म दिगो गति लिन नसकेको धमलाको भनाइ छ । ‘स्थानका हिसाबले अन्त ग्राहक नहुँदा पनि यहाँ केही न केही व्यापार हुन्छ, तर पछिल्लो समयमा जुन आर्थिक मन्दी देखिएको छ, त्यसले पसलहरुमा व्यपार सुक्यो’, उनी भन्छन्, ‘युवाहरु धेरैजसो विदेश गाएका छन्, यहाँ रहनेहरुसँग आम्दानी कम छ, महंगीले आकाश छोएको छ, ग्राहक रहे न व्यापार रहन्छ ।’
अहिले सुन्धारा मलमै पनि धेरै कवलहरू खाली छन् । सौन्दर्यसम्बद्ध सेवाका लागि जाने ग्राहक केही संख्यामा छन्, तर लत्ता कपडा, जुत्ता, कस्मेटिकलगायतका पसलहरुमा ग्राहक न्यून छन् ।
गल्कोपाखाबाट हालै कपडा पसल बेचेका संगम विष्ट गोंगबु चोकदेखि ठमेलचोकम्म आइपुग्दाको बाटोमा कयौं सटर खाली भएको बताउँछन् । ‘अहिले व्यापार गरेर बसेकाहरु पनि टिक्न सकिन्छ कि भनेर मात्रै बसेका हुनु’, उनी भन्छन्, ‘दिनभर झिंगा धपाएर बस्नु परेपछि के खाने ?’ त्यसैले उनी अब दुबई जाने प्रक्रियामा लागेका छन् । बेच्न खोज्दा नबिकेपछि भाडा तिरिरहनुभन्दा सामान निकालेर पसल छोड्नेहरु बढेका छन् ।
कपुरधारामा दुई महिनाअघि एक डेरी पसल किनेकी सञ्जिता आलेलाई अहिले रुनु न हाँस्नु भएको छ । ‘श्रीमानसँगै जापान जान पर्यो, चलिरहेको पसल हो, सस्तोमा दिन्छु भनेकाले किनिहालें’, उनले भनिन्, ‘पहिला त राम्रै चल्थ्यो रे । अहिले त मान्छेले दूध दहीमा पनि कम खर्च गर्न थालेछन् जस्तो छ ।’
कतिपय क्षेत्रमा रोडसाइडमा हुने पार्किङ हटाइएका कारण ग्राहक आउनै नपाएर पनि व्यवसाय सुकेको व्यवसायीहरूको गुनासो छ। अनलाइन सपिङको बढ्दो ट्रेन्डले केही हदसम्म यस्तो अवस्था बनाउन भूमिका खेलेको हुनसक्ने व्यापारीहरू बताउँछन् ।
दरबारमार्गमा पनि खाली

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीका अनुसार कुनै समय काठमाडौंको चक्रपथभित्र भाडाका खाली पसल-कबल भेटिनु असम्भवः प्रायः थियो । तर, अहिले सटर कबलमा फोन नम्बरसहित ‘टु-लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् ।
भाडाका भवन र खाली स्पेसहरु पाउन काठमाडौंकै सबैभन्दा कठिन भनेर चिनिने दरबारमार्गकै भवनहरुमा ‘टु-लेट’का बोर्ड देखिन थालेका छन् ।
अहिले दरबारमार्ग नजिकै जमलमा बनेको विश्वज्योति मलको अधिकतम् भाग खाली छन् ।
झट्ट हेर्दा भव्य देखिने व्यापारिक मलहरू सुनसान छन् । पैतालाले भरिने मलका विद्युतीय भर्याङहरु धुलाम्य छन् ।
खुलेका पसलअघि ठडाइएका डमीहरु पनि मलमा खाली भइरहेका सटरका साक्षी जस्तो मात्रै बनेका छन् । ग्राहक नपाएपछि तिनै डमीहरू कपडाहरू फेरिनबाट वञ्चित बनेका छन् ।
ललितपुरको लबिम मल, सुन्धाराको सिभिल मल, सीटीसी मलदेखि काठमाडौंका ठूला भनिएका मलहरुमा पनि खाली सटरहरु देखिन थालेको छ । यस्ता मलमा किनमेल गर्न जाने मान्छे घटेका छन् ।
भवन तयार नहुँदै कवलको भाडा अग्रिम भुक्तानी गरेर बुकिङ लिने विगतको जस्तो अवस्था पनि अहिले छैन । नयाँ बानेश्वरको अल्फाबिटा भवनसँगै बनेको ठूलो व्यवसायिक भवनले एक महिनाभन्दा अघिदेखि ‘टु-लेट’को बोर्ड लगाउँदा पनि अहिलेसम्म पसल, व्यवसाय तथा कार्यालयहरुलाई भित्र्याउन सकेको छैन । यसले पनि बजारमा नयाँ काम गर्न चाहनेहरु पनि हात खोल्न नसकिरहेको देखाउँछ ।
अहिले व्यस्त बानेश्वर चोक आसपासकै क्षेत्रमा थुप्रै ‘भाडा’का सूचना बोर्डहरु देखिन्छन् । अझ बिडम्बना के छ भने लामो समयदेखि त्यस्ता भवनका खाली भाग र कमलहरु भाडामा लिनेहरु आएका छैनन् ।
समस्यामा साना व्यापारी

बानेश्वर व्यापार संघका अध्यक्ष नवीन लुइँटेल बानेश्वर क्षेत्रमा २५/३० प्रतिशत सटर भाडा वा बिक्रीमा रहेको बताउँछन् । पसल चलाइरहेका अधिकांश व्यवसायी राम्रो मूल्य आए पसल छाड्ने मनसाय बनाइरहेको उनले बताए ।
‘पहिला आम्दानी राम्रै हुने भएर नै महिनाको ५०/६० हजारदेखि एक लाखसम्म भाडा तिर्न समस्या थिएन, अहिले विश्व बजारमा देखिएको मन्दीको असर र ग्राहकको अभावले व्यापार ठप्पप्रायः भएपछि भाडा तिर्न नै सकस भयो’, उनले भने, ‘बैंकबाट ऋण पाइन्न, गजर्ने टारिदिने सहकारीहरु आफैं समस्यामा छन्, यस्तो बला पसमा बोहनी नै नहुने भएपछि कसरी टिक्ने ?’ उनी न्यूरोडको मूल सडक क्षेत्रमै पनि भाडाका सूचनाहरु टाँसिन थालेको देखेपछि व्यवसायीहरु अत्ताल्लिएको बताउँछन् ।
बानेश्वर क्षेत्र पर्ने काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसी पछिल्ला दिनमा पसल छाडेर हिँडेपछि सम्पर्कमा नआउने कारणले पसल खाली गराइदिन धेरै निवेदन आउन थालेको बताउँछन् । ‘भाडा नतिरी मान्छे सम्पर्कविहीन भएपछि सटर खाली गराइदिन भन्दै आउने घरधनीको संख्या बढेको छ’, उनले भने ।
ललितपुरको व्यस्त मंगलबजारको अवस्था पनि फरक छैन । स्थानीय व्यवसायी भीम राजथलाका अनुसार मंगलबजारमा पहिले १५ लाख रुपैयाँ सलामी दिंदा पनि नबिकेका पसलहरु अहिले ५ लाख सलामीमै छोड्न तयार हुँदा पनि किन्नेहरु आएका छैनन् । ‘बिक्री भएका पसलका मान्छे कता गए थाहा छैन, पसल किन्नेहरु व्यापार नभएको देखेर थक-थक मान्दैछन्’, उनले भने, ‘कोभिडको महामारीमा पनि व्यापार यतिविधि डामाडोल भएको थिएन ।’



