७ आश्विन २०८३, बुधबार

राठौरले बाचा पूरा गर्दा अलपत्र पुल निर्माणले पूर्णता पाउँदै

एसीपी संवाददाता

२६ जेष्ठ २०८०, शुक्रबार ०४:३२ मा प्रकाशित

नेपालगञ्ज । झण्डै २ वर्षदेखि अलपत्र परेको परस्पुर–गौघाट सडकखण्ड अन्तरगत ‘सिगाउँ’ स्थित किरण नाला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको बजेटबाट उक्त पुल निर्माणको काम सुरु गरिएको थियो ।

तत्कालीन समयमा पुल निर्माणका लागि कुल ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । २०७७ फागुन १९ गते ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीले २०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । ठेकेदार कम्पनी ‘गल्वा/सिद्धार्थ दर्शन जेभी’ ले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक–पटक म्याद थपिएको थियो ।

गत मंसिरमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुँदा त्यस क्षेत्रमा पुगेर अलपत्र अवस्थामा रहेको उक्त पुल निर्माण कार्य पूरा गराउने प्रतिवद्धता जनाएका थिए । प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएपछि उनले ठेकेदार कम्पनी, सम्बद्ध सरकारी निकाय लगायतलाई ताकेता गरेपछि अहिले पुल निर्माणको कामले सार्थकता पाउन लागेको हो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त पुलको शुक्रबार ढलान गरिँदैछ । ठेकेदार कम्पनीका प्रतिनिधिले ढलानका लागि आवश्यक तयारी पूरा गरेको जनाएका छन् । निर्माणाधीन पुलको बिहिबार स्थलगत निरीक्षण गर्दै काँग्रेस सहमहामन्त्री एवम् सांसद राठौरले आफूले चुनाव प्रचारका क्रममा पुलको दयनीय अवस्था देखेर तत्कालै निर्माण कार्य अगाडि बढाउन ठेकेदार र सम्बन्धित सरकारी निकायलाई ताकेता गरेको स्मरण गरे । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको उनले बताए ।

‘यो पुलको बारेमा मैले ठेकेदारलाई बारम्बार ताकेता गर्दै आएको थिएँ, अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको छ,’ राठौरले भने ‘यस क्षेत्रका जनतालाई पुल नहुँदा निकै समस्या थियो, अब उहाँहरु बर्खायाम अगाडि नै यो पुलबाट आवत–जावत गर्न पाउनुहुन्छ ।’ पुल निर्माणसँगै परस्पुर–गौघाट सडक निर्माणको कामलाई पनि चाडै सम्पन्न गराउन आफूले सम्बन्धित निकायसँग कुरा गरिरहेको सांसद राठौरले सुनाए । राठौरले आगामी आर्थिक वर्ष २०८०/८१ भित्रमा उक्त सडकखण्डको काम सम्पन्न गराउन आफूले पहल गरिरहेको बताए ।

निर्माणाधीन पुल निरीक्षण गर्न प्रदेशसभाका सांसद बादशाह कुर्मी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल र नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ पनि पुगेका थिए । प्रदेश सांसद कुर्मीले परस्पुर–गौघाट खण्डको अलपत्र पुल निर्माण गर्ने प्रतिवद्धता गत मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले गरेको र अहिले प्रतिवद्धता पूरा गरेको बताए । पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि परस्पुर–गौघाट सडक निर्माणमा आफ्नो ध्यान केन्द्रित भएको उनले सुनाए ।

खजुरा गाउँपालिका अध्यक्ष बिकले ठेकेदारले सम्झौता गरेपनि पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेकोमा अहिले सम्पन्न हुन लागेको बताए । ‘यो पुल निर्माणको काम सम्पन्न भएपछि धेरैलाई राहत मिल्नेछ,’ उनले भने । उपाध्यक्ष मल्लले पुल निर्माणका लागि प्रतिनिधिसभाका सांसद किशोरसिंह राठौरको योगदानलाई खजुराबासीले सधैंं स्मरण गरिरहने बताइन् । ‘किशोर दाईले चासो नदिएको भए दुई वर्षसम्म अलपत्र परेको पुल यति चाडै सम्पन्न हुने सम्भव नै थिएन,’ उनले भनिन् । क्षेत्रीय सभापति खाँले नेपाली काँग्रेसले आफ्नो प्रतिवद्धतालाई जहिले पनि पूरा गरेरै छाड्ने बताए । ‘हामीले जे बोल्छौं, त्यो काम गर्छौ,’ उनले भने ‘किशोर दाईले जनतामाझ गरेको वाचा पूरा गर्नुभयो ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x