आफ्नै गाउॅबाट लखेटिए अमरेश सिंह, बलराका जनताले सम्झाईदिए औकात!
सर्लाही । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आफूनिकटलाई अध्यक्ष बनाउन खोजेपछि सर्लाहीको बलरा–४ को एक विद्यालयमा तनाब सिर्जना भएको छ। सिंहले गृहनगर बलारा–४ जब्दीको श्री प्राथमिक विद्यालयमा आफूनिकट शम्भुनाथ मिश्रलाई अध्यक्ष बनाउन खोजेपछि तनाब सिर्जना भएको हो।
अभिभावक भेलामा पुगेर उनले स्थानीयको भावनाविपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन खोजेपछि तनाव भएको एक प्रत्यक्षदर्शीले जानकारी दिए। ती प्रत्यदर्शीका अनुसार सांसद सिंहले आफूनिकटलाई अध्यक्ष बनाउन खोज्दा अभिभावकहरुले अध्यक्ष चयनका लागि निर्वाचनमा जानु पर्ने अडान राखेका थिए।
तर, सिंहले जबरजस्ती गर्न खोजेपछि स्थानीय बासिन्दाले नाराबाजी गरेका थिए। विद्यालयमा तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो। स्वतन्त्र सांसद सिंहले जबरजस्ती गरेपछि अहिले स्थानीय बासिन्दा आक्रोसित छन्। उनीहरु सामाजिक सञ्जालमार्फत् विरोध गरिरहेका छन्।
घटनापछि एक स्थानीयले फेसबुकमा लेखेका छन्, ‘सर्लाही बलरा नगरपालिका वार्ड नं ४ अमरेश सिंहले आफ्नै वार्डको प्राथमिक विद्यालयमा विद्यालयको मुल गेट बन्द गरी प्रहरी प्रशासनको बलमा अभिभावकहरू ( महिलाहरु) लाई विद्यालय भित्र प्रवेश गर्न नदिई १५–२० जना गुण्डाहरु लिई माननीय जस्तो गरिमामय पदको दुरुपयोग गरी विद्यालयको प्रधानाध्यापकलाई धाकधम्की देखाएर जबरजस्ती आफ्नो मान्छेको नाम विधालय व्यवस्थापन समितिमा लेखाउने निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै यस्ता अपराधी कार्य गर्ने ब्यक्तिमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।’


