द्वन्द्वकालीन मुद्दा बल्झाएर देशलाई द्वन्द्वमा धकेल्ने षडयन्त्र भयो : डा. भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । द्वन्द्वकालीन मुद्दा बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका हुन् ।
गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत् द्वन्द्वकालीन मुद्दा छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए । ‘द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ’, उनले भने, ‘त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो ।’


