विगतमा विश्वराज पोखरेल यो पात्र थिए । अहिले श्यामलाल ज्ञवालीले यो परिचय बनाएका छन् । एआईजीका रुपमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका ज्ञवालीमाथि उपत्यकाका सम्पूर्ण प्रहरी अधिकारीको जिम्मेवारी छ । प्रहरी अनुशासन कायम गराउने ठाउँमा उनी छन् । तर आफै उल्लंघन गरेर हिँडेका छन् । आईजीपी बन्न कुनै हतकण्डा बाँकी नराखेका ज्ञवाली अहिले पनि अनेक खुरापाती गरिरहेका छन् ।
पछिल्लो समयमा सतहमा आएका घटनाले ज्ञवाली आफ्नो आईजीपी बन्ने सपना, आईजीपी बन्नुअगाडिको भर्ना उमेर विवाद बाहिर ल्याएर अख्तियारमा उजुरी दिएको बदला ताजै रहेको देखाउँछ । जसकारण ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुदेखि आफ्नै संगठन प्रमुख आईजीपीविरुद्ध प्रपोगाण्डा र फेल न्यूज लेखाउन लगाएर भ्रम सिर्जना गरे । अनुसन्धानमा जोडिने कुनै आधार नभए पनि त्यो समयमा मुछेर भरपुर उपयोग गरे । आईजीपी बसन्त कुँवरविरुद्ध समाचार लेखाएर कु नै गर्न खोजे ।
केही उदाहरणमा हेरौं । ११ र १२ असारमा एक दैनिक पत्रिकामा कांग्रेस वरिष्ठ नेता कृष्णप्रसाद सिटौला र नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएको र प्रहरीले आनाकानी गरेको दाबीसहित समाचार प्रकाशित भयो । कांग्रेसिवरुद्धको ‘प्रोपोगाण्डा’का रुपमा आएको यो सनसनीपूर्ण समाचार भाइरल भयो । कांग्रेस नेताहरुलाई सामाजिक सञ्जालबाट दोषी करार गरियो । तर तथ्यभन्दा बाहिर नभएको समाचारको तत्कालै गृह मन्त्रालयले खण्डन गरयो ।
समाचारमा उल्लेख भएको विषय गलत र तथ्यहीन भन्दै झुटो समाचार नलेख्न चेतावनी दियो । यो समाचारमै उपत्यका प्रहरी कार्यालयबाट सूचना पाएको उल्लेख थियो । यसका प्रमुख ज्ञवाली छन् । झुट नटिकेपछि ज्ञवाली नेतृत्वको उपत्यका प्रहरी कार्यालयले करिब ४८ घण्टापछि विज्ञप्ति निकाल्दै कर्मकाण्डी रुपमा खण्डन गरयो । अन्तत ज्ञवालीले लेखाएको समाचार आफ्नै उपत्यका प्रहरी कार्यालयले खण्डन गर्नुपर्ने अवस्था आयो । यो समाचारका विषयमा प्रेस काउन्सिलले समेत अनुसन्धान थालेको छ । यसअघि आईजीपी कुँवरलाई बर्खास्त गर्नुपर्ने लबिइङसहितको समाचार स्थापित अनलाइनमा आयो ।
राजनीतिक दवाबमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नगरेको र आरोपी जोगाएको तथा घटनाका मुख्य आरोपी एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भगाएको आरोप लगाएर तुरुन्तै बर्खास्त गर्नुपर्ने आदेश ती समाचारबाट दिइयो । तर, ती समाचार उल्लेखित तथ्यलाई त्यतिखेर गलत सावित गरयो, जब रायमाझीलाई आईजीपी कुँवरको निर्देशनमा खटिएको विशेष टोलीले पक्राउ गर्यो । यसले उनले भगाएको आरोप मिथ्या मात्र होइन प्रोपोगाण्डा भएको स्पष्ट भयो ।
त्यतिमात्रै होइन आफूविरुद्धको भर्ना उमेर विवादको उजुरी दर्ता गर्ने अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई पनि जबरजस्त भुटानी शरणार्थी प्रकरणमा मुछ्ने प्रयत्न गरे । त्यतिमात्रै होइन उजुरी दर्ता नगर्न एमालेले भूमिका नखेलेको भन्दै केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई पनि जोडे । यसअघि आरजु राणाको नक्कली अडियो सार्वजनिक गरिदिएर अपराधी करार गरिदिए । यद्यपि आफ्नो बारेमा आएको अडियोको वास्तविकता के हो ? कसले, के कति उदेश्यका लागि अडियो रेकर्ड गराएको हो ?
यसबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न आरजुले प्रहरीमा उजुरी दिएको दुई महिना नाघे पनि प्रहरीले कुनै जानकारी गराएको छैन । नक्कली अडियोबारे अभियुक्तहरुले इन्कारी बयान दिए पनि ज्ञवालीले भाइरल गराएर आरजुको इमेज ड्यामेज गर्ने र सत्ता गठबन्धनलाई भत्काउने प्रयास समेत गरेको उपत्यका कार्यालयका अधिकारी बताउँछन् । ज्ञवालीले एमाले नेतामार्फत उक्त अडियो सार्वजनिक गराएको दाबी मेट्रो उच्च अधिकारीको छ । जबकी अदालतमा बुझाएको अभियुक्त सन्देश शर्माको वयानमा अडियो नक्कली भएको पुष्टि भइसकेको छ । जसले अडियो रेकर्ड गरेर प्रहरीमा दिएको थियो उसैले गलत हो भन्दाभन्दै बयान सकिएको १० दिनपछि मिडियामार्फत सार्वजनिक गरिनुमा ज्ञवालीकै योजनाबद्ध भूमिका रहेको स्रोतको दाबी छ ।
अहिलेको जल्दोबल्दो नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरले निषपक्षताका साथ अनुसन्धान गरेर गिरेको प्रहरीको साख बढाइरहेका बेला उपत्यका प्रहरी कार्यालयमा बसेर ज्ञवालीले अनुसन्धान नै प्रभावित हुनेगरी आफ्नो स्वार्थअनुकूल लगातार तथ्हहीन र गलत तथा भ्रामक समाचार फैलाउने चलखेलमा रहेको माथिका घटनाले देखाउँछ । उनीमाथि अनुसन्धानको माग समेत भइरहेको छ ।