भ्रष्टाचार प्रकरणमा एमाले नेता नचलाउने सर्तको समाचार बाहिरिएपछि ओलीले फेरी लिए संसद नखोल्ने अडान
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारमा भएको सहमति लिक भएको भन्दै संसद अवरोध हटाउन नयाँ सर्त राखेका छन् । उनले सिंहदरबारमा गरेको सहमति संसद भवन नपुग्दै तोडेका हुन् । ओलीले सिंहदरबारमा एमाले नेताहरूलाई भ्रष्टाचार प्रकरणमा नचलाउने सर्तमा संसद खोल्न राजी भएको समाचार उनी संसद नपुग्दै बाहिरिएको थियो ।
लगत्तै ओलीले यसरी भएन संसद खोल्न नसकिने भो भन्दै नयाँ सर्त अगाडि सारेका छन् । यसरी सदन खुलाउने बारे सिंहदरबारमा आइतबार भएको प्रमुख तीन दलका शीर्ष नेता बीचको सहमति एक घण्टा पनि टिकेन । ओलीले यही सहमति अनुसार जाँदा पार्टीलाई अप्ठ्यारो पर्ने देखेपछि नयाँ सर्त अघि सारेको माओवादीको भनाइ छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेको छलफलमा एमालेका मागप्रति प्रधानमन्त्री सकारात्मक भए संसदको अवरोध हटाउने र प्रधानमन्त्रीलाई अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो ।
सोही सहमति अनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । तर सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै ओली सहमति तोडेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । प्रधानमन्त्रीले आजै संसदलाई सम्बोधन गर्ने सहमति भएको थियो । तर, सिंहदरबारमा सहमति गरेर निस्केको आधा घण्टापछि ओलीले फोन गरेर सहमति कार्यान्वयन नहुने बताएको माओवादीको भनाइ छ ।
स्रोतका अनुसार सिंहदरबारबाट सहमति गरेर निस्केको आधा घण्टामै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका थिए । प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेको विषयमा प्रश्न उठाउँदै आचार्यलाई जागिरबाट निकाल्ने र श्रेष्ठले माफी माग्नुपर्ने सर्त राखेका थिए । नेपालबहस


