१४ मंसिर २०८३, आईतवार

पार्टी संगठनलाई चलायमान बनाउँदै सभापति देउवा, देशभरीका नेता कार्यकर्तामा खुशियाली

एसीपी संवाददाता

२५ असार २०८०, सोमबार २२:११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई चलायमान बनाउन भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाको विस्तारलाई अगाडि बढाएका छन् । पार्टीभित्रको समीकरण मिलाउँदै सबैलाई समेटेर सभापति देउवाले भ्रातृ संस्थाहरुलाई पूर्णता दिने कार्य अगाडि बढाएका हुन् ।

महामन्त्री गगनकुमार थापाले आवरणमा पार्टी सभापतिले केही गर्न नदिएको, पार्टी चलायमान हुन नसकेको आरोप लगाउँदै सभापति देउवाविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक माहोल बनाउन सक्रिय रहेका बेला यसको जवाफ सभापति देउवाले कामबाटै दिएका छन् । सभापतिको कामलाई प्रभावशाली नेता शेखर कोइरालाले बलियो साथ दिएका छन् ।

सभापति देउवाले सुरुमा उषा रावत मिश्रको अध्यक्षतामा रहेको नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ५२ सदस्यहरुको मनोनयन गरी पूर्णता दिएका छन् । पूर्णता पाएसँगै महिला संघ पार्टी संगठन विस्तार तथा महिलाहरुको हकहितमा सक्रिय भएको छ । त्यस्तै सभापति देउवाले विधान गुरुङ नेतृत्वको नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा चार सय सदस्यहरुको मनोनयन गरेर पूर्णता दिएका छन् । पूर्णता पाएसँगै तरुण चलायमान भएको छ ।

सभापति देउवादेखि केन्द्रीय आरजु राणासम्मले तरुणलाई मार्गदर्शन गरेका छन् । लोकतन्त्र र शासन व्यवस्थानको प्रत्याभूत गराउन तरुण फिल्डमा खटिइसकेको छ । त्यस्तै, सभापति देउवाले यो बीचमा पार्टीको प्रचार विभागलाई पनि पूर्णता दिएका छन् । प्रचार विभागको प्रमुख मीन विश्वकर्मालाई नियुक्त गर्नुका साथै केही सदस्य मनोनयन गरेर पूर्णता दिएका छन् । सभापति देउवाले अब नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिलाई पनि पूर्णता दिने तयारी गरेका छन् ।

अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा रहेको कमिटीलाई सबै पक्ष समेटेर आज भोलि नै पूर्णता दिने तयारी रहेको नेताहरु बताउँछन् । बाहिर गगनले सभापतिविरुद्ध अभियान नै चलाएका बेला भित्र भने भ्रातृ संगठन विस्तारमा भाग लिएको खुलेको छ । कांग्रेस प्रभावशाली नेता शेखर कोइरालाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सहमतिमा आफूसँग समेत सल्लाह गरेर सभापति देउवाले भ्रातृ संस्थालाई पूर्णता दिएको बताए । ‘महिला संघ होस् कि तरुण दल गगनजी र मैले नै फाइनल गरेको हो । हामीहरु मिलेरै पार्टीलाई चलायमान बनाउन लागिरहेका छौं । सभापतिजीले सबैलाई समेटेर जाने नीति लिनुभएको छ र व्यवहारमा पनि देखाउनुभएको छ,’ कोइरालाले भने ।

सामूहिकतामा आधारित रहेर सभापति देउवाले २७ वैशाखमा केन्द्रीय समितिको बैठक पनि बोलाएका छन् । पार्टी संगठनलाई कसरी चलायमान बनाउने, कसरी अगाडि बढाउने विषयमा केन्द्रीय सदस्यहरुको धारणा लिने र अहिलेसम्मको अवधिको समीक्षा गरिने नेताहरु बताउँछन् । सभापति देउवाकै मार्गदर्शनमा हालै हालै जिल्ला सभापतिहरुको बैठक पनि बसेको थियो ।

त्यसअगाडि स्थानीय तहको बजेट तथा कार्यक्रमको प्राथमिकता सन्दर्भमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसंग बैठकसमेत गरिएको छ । यसरी सभापति देउवाले कांग्रेसलाई चलायमान र एकढिक्का बनाउँदै कार्यसम्पादन अगाडि बढाएका छन् । यो अभियानमा शेखर कोइरालादेखि शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण सिटौलासम्म सबै नेताहरुको साथ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x