काम नगर्ने तर मिडियाकर्मी बोकेर प्रचारबाजीमा रमाउने महामन्त्री गगन थापानिकट नेताहरुले गर्दै आएको यो कार्य हिजोदेखि बन्द भएको छ । तर प्रपोगाण्डा फैलाउने बानी लागेका गगनका सेनामेना बैठकभित्रको विषयमा सम्भव नभएपछि बैठक बाहिर भनेर काल्पनिक कथा बुनेर प्रपोगाण्डा थालेका छन् । उनीहरुले बैठकको पहिलो दिन कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई निशाना बनाएका छन् ।
सभापति शेरबहादुर देउवालाई सिधै आक्रमण गर्न नमिलेपछि उनीहरुले देउवाको परिवारलाई निशाना बनाएका हुन् । यसमा प्याधा बनेका छन् केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी । कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको फोटो देखाएर मुस्किलले केन्द्रीय सदस्य भएका शिवाकोटी गगनका शिष्य हुन् ।
गगनले नै ग्रमु गरेका शिवाकोटीले हिजो आरजुविरुद्ध मिडियामा प्रपोगाण्डा फैलाएका छन् । पूर्वपत्रकार समेत रहेका शिवाकोटीले पार्टीको नेताले आफूविरुद्ध अप्रमाणित विषयमा पूर्वाग्रह राखेर किन बोलेको भनेर गुनासो गरेको विषयलाई धम्की दिएको भनेर प्रचार गराएका छन् । आरजुले आफ्नाविरुद्ध जे पायो त्यही बोल्ने भनेर केन्द्रीय सदस्य शिवाकोटीलाई प्रश्न गरेकी थिइन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकका क्रममा नेतृ डा.राणाले शिवाकोटीसँग ‘जे पायो त्यही बोल्ने’ भनेर प्रश्न गरेकी थिइन् । नेतृ डा.राणाले प्रश्न गरेपछि शिवाकोटीले ‘मैले केही बोलेको छैन’ भनेका थिए । त्यसपछि नेतृ डा.राणाले ‘तपाईले अन्तर्वार्तामा बोलेको कुरा देखाउँछु’ भनेकी थिइन् । तर, केन्द्रीय सदस्य शिवाकोटीले आफूलाई आरजुले देखाइदिने भनेर धम्की दिएको कुप्रचार गर्दै समाचार लेखाएका हुन् ।
शिवाकोटीले डा.राणाविरुद्ध टेलिभिजन अन्तर्वार्तामा जथाभावी बोलेका थिए । त्यही विषयमा जिज्ञासा राखिएको विषयलाई शिवाकोटीले तोडमरोड गरेका छन् । केही दिन अगाडि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा शिवाकोटीले डा.राणालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा घुमाउरो भाषामा मुछेर दोषी देखाउन खोजेका थिए । सोही विषयमा नेतृ डा.राणाले नेता शिवाकोटीलाई बोलाएर सोधेकी थिइन् ।
तर, शिवाकोटीले त्यो विषयलाई तोडमोड गरेर केही अनलाइन सञ्चारमाध्यममा नेतृ डा.राणाका विरुद्ध समारचार लेखाएका हुन् । नेतृ डा.राणा र नेता शिवाकोटीबीच भएको कुराकानीलाई समाचारमा ट्वीस्ट गरेर बाहिर ल्याइएको छ ।
डा.आरजु देउवा निर्दोष भनेर आयो नि ? भन्ने ऋषि धमलाको प्रश्नको जिज्ञासामा केन्द्रीय सदस्य शिवाकोटीले भनेका छन्, ‘कसले भन्यो ? निर्दोष भनेर आएको कुरा आफ्नो ठाउँमा छ । दोषी भनेर नआएको पनि आफ्नो ठाउँमा छ । यसमा दोषी भनेर कसैले करार गरेको अवस्था होइन । निर्दोष भनेर कसैले नाम पोलिरहेको छ । नाम पोल्नेवित्तिकै आजै मात्र गृहमन्त्रीको कुरा सुन्नु भयो होला ।’ ‘युवा संघको साथीहरू त्यहाँ पुगेका रहेछन् । कसैले नाम पोल्नेवित्तिकै, त्यो त अनुसन्धानको क्रममा भएको कुरालाई हामीले टाङ अड्याएर अफ्ठ्यारो बनाउने कुरा त भएन नि !’, उनले भनेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विशेष गरेर एउटा सानो समूह अर्को समूहको चरित्र हत्या गरेर बदला लिने मुडमा छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रहरी प्रमुख (एसएसपी) डा.मनोज केसी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) श्यामलाल ज्ञवाली तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठहरू कांग्रेसका केही नेताहरूको चरित्र हत्या गरेर स्वार्थ लिन खोजी रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ । तैपनि कांग्रेसभित्रकै एउटा भूमिगत गिरोह अहिले पनि त्यो विषयमा अर्को समूहको बद्नाम गरेर स्वार्थ लिन खोजी रहेको छ ।