१६ जेष्ठ २०८३, शनिबार

एक बर्ष देखि नेपाल बसेका थिए चिनियाँ नागरिक बिमानस्थल बाट पक्राउ

एसीपी संवाददाता

६ श्रावण २०८०, शनिबार १८:३६ मा प्रकाशित

काठमाडौं –  सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङ एक वर्ष पहिले नै नेपाल आएको खुलेको छ। बिहीबार नेपाल छाडेर भाग्न लागेका लिङलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

उनलाई पक्राउ गर्नका लागि राजस्व अनुसन्धान विभागले पत्र पठाएको थियो। राजस्वको पत्रपछि अध्यागमन विभागले कालो सूचीमा राखेर पक्राउ गर्न प्रहरीलाई भनेको थियो।

उनी तिब्बत एयरबाट चीन जानका लागि विमानस्थल पुगेका थिए। राजस्व अनुसन्धान विभागले करिब एक सय सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको सूचना पाएलगत्तै नेपाल छाड्न लागेका उनको नेपाल बस्ने भिसाको म्याद अझै सकिएको थिएन।

व्यापारिक भिसामा नेपाल आएका उनको भिसाको अवधि अगस्ट २०२३ सम्म थियो।

जिक्वाङले नेपालमा कार्गो कम्पनी पनि सञ्चालन गरेका थिए। उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो।

उक्त कम्पनीको कार्यालय महाराजगञ्जमा रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। २०२२ डिसेम्बर १३ मा नेपाल आएका ती चिनियाँ नागरिक त्यसपछि गएको तथ्य देखिएको छैन।

उनले नेपाल बस्दा तीन पटक भिजिट भिसासमेत लिएका थिए। २०२२ को सेप्टेम्बर २८ मा तीन महिनाको भिजिट भिसा लिएका थिए। फेरि २०२३ मार्च १० गते पनि तीन महिनाको भिजिट भिसा नै थपेर नेपाल बसे।

२०२३ अप्रिल १६ मा तेस्रो पटक तीन महिनाको भिजिट भिसा थपेका उनले अन्तिम पटक २०२३ मे ११ मा तीन महिनाको ब्यापारिक भिसा लिएका थिए। त्यो भिसाको म्याद २०२३ अगस्ट ९ सम्म थियो।

तर, त्यसअघि नै सुन प्रकरणमा अप्रेसन चलेपछि उनी बिहीबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा चीन फर्किनका लागि पुगेका थिए।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायत रहेका छन्।

उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

यस्तै, यही प्रकरणमा जोडिएका थप व्यक्तिलाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागलाई जरुरी पक्राउ पुर्जी पनि दिएको उच्च अदालतले जनाएको छ।नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x