बेलायतको विभेदविरुद्ध नेपाली सुरक्षाकर्मी
अफगानिस्तानबाट उद्धार गरिएका १३ नेपाली सुरक्षाकर्मीमध्ये ५ जनाले आवासीय अधिकार पाउँदा बाँकीलाई समान व्यवहार नगरिएको गुनासो
लन्डन — अफगानिस्तानमा १५ अगस्ट २०२१ मा तालिवानले सत्ता कब्जा गरिरहँदा देशभर सन्त्रास फैलियो । बेलायतसहित कैयौं मुलुक आफ्ना नागरिक र कूटनीतिज्ञको उद्धारमा जुटे । त्यो संकटमा आफ्नो ज्यानको पर्वाह नगरी अन्तिमसम्म दूतावास कर्मचारीको सुरक्षा कवच भएर बसेका थिए, बम गुरुङ । उनी काबुलस्थित बेलायती र क्यानेडियन दूतावासमा १० वर्षदेखि सुरक्षागार्ड थिए ।
‘अफगानिस्तानमा आफू मरिनेभन्दा पनि दूतावासका कर्मचारीलाई कसरी बचाउने भन्ने चिन्ता थियो,’ हाल बेलायतमा रहेका उनले कान्तिपुरसँग भने । त्यो त्रासदी सुनाइरहँदा नुवाकोटका गुरुङको मन बेचैन देखिन्थ्यो । किनकि उनलाई अहिले अपमानित महसुस हुनुपरेको छ । जसका लागि ज्यानको बाजी थापे उसैसँग लड्नुपरेको छ ।
गुरुङलाई १८ अगस्ट २०२१ मा अफगानिस्तानको काबुलबाट ब्रिटिस रोयल एयर फोर्स (आरएएफ) ले उद्धार गर्यो । उक्त विमानमा ब्रिटिस र क्यानेडियन कूटनीतिज्ञसहित अफगान नागरिक पनि थिए । दुबई ट्रान्जिटमा गुरुङले बेलायती अधिकारीलाई आफ्नो नेपाली राहदानी देखाउँदै सोधेका थिए, ‘हामी त अफगानी होइन नेपाली हौं । हामी पनि यूके जाने हो र ?’ प्रत्युत्तरमा बेलायतीले भनेका थिए, ‘हो तपाईं बेलायत नै जाने हो ।’ उनलाई बेलायतको बर्मिङहम सहर ल्याइयो उनलाई । उनीसँगै काम गरेका अन्य १३ सुरक्षागार्ड पनि फरक–फरक मितिमा बेलायत आए ।
बेलायत आइपुगेपछि उनीहरू सबैमा नयाँ जीवन सुरु हुने आशा पलायो । बैंक खाता खोल्ने, राष्ट्रिय स्वास्थ्य सेवाका लागि जिपी दर्ता, नेसनल इन्स्योरेन्स (एनआई) नम्बर लगायत प्रक्रिया पनि पूरा भयो । उनीहरूले काम गर्ने अधिकार पाएर सानोतिनो काम पनि थाले । १३ सुरक्षागार्डमध्ये तीन जनाको होम अफिसले नै प्रक्रिया पूरा गरेर आवासीय अधिकार (आईएलआर) दियो । बाँकीलाई पनि काम बन्नेमा ढुक्क थियो । तर, अकस्मात गत मार्च २७ मा सबेरै होम अफिसका कर्मचारी (इमिग्रेसन पुलिस फोर्स) आएर उनीहरू सुतिरहेकै होटल आईबीसबाट १० जनालाई पक्राउ गरे र विभिन्न ‘डिटेन्सन सेन्टर’ लगे । पछि बुझ्दा थाहा भयो, अप्रिल ६ को हवाई टिकट काटेर हिथ्रो र ग्याटविकबाट नेपाल ‘डिपोर्ट’ गर्ने योजनासमेत बेलायत सरकारले बनाएको रहेछ ।


