नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा श्रेष्ठ र धोबी निर्वाचित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा रुमिता श्रेष्ठ र कौशलकुमार धोबी निर्वाचित भएका छन् । उपप्रमुख संयोजक रहने समितिमा दुई जना सदस्य चुनिन बाँकी थियो ।
निर्वाचन अधिकृत खिमानन्द अर्यालका अनुसार ११४ जना मतदाता रहेकोमा १०० जनाले मतदानमा भाग लिएका थिए । जुन कुल मतदाताको ८७.७२ प्रतिशत हुन्छ । नेपालको संविधान २०७२ को धारा २१७ बमोजिम उपमहानगरपालिकामा रहने न्यायिक समितिको संयोजकमा नगर उपप्रमुख रहने र २ जना सदस्यको हकमा नगरसभा सदस्यहरु मध्येवाट निर्वाचित सदस्य रहने कानुनी व्यवस्था बमोजिम निर्वाचन भएको अर्यालले जानकारी दिए ।

नवनिर्वाचित सदस्यहरुलाई न्यायिक समिति संयोजक एवम् उपप्रमुख कमरुद्दिन राईले सपथ खुवाएका थिए । नगर प्रमुख प्रशान्त विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरेका थिए ।


