एकीकृत समाजवादीको नेतृत्वप्रति नेताहरूको असन्तुष्टि
नेकपा (एकीकृत समाजवादी)का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । संसद् बैठक नै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेको उनले बताए ।
उपमहासचिव तुलाधरले भने, ‘सांसदलाई संसद् जस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका ग¥यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन् । त्यसैले संसद्को गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर उत्पन्न गरिएको छ । त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन । सदनको एक मिनेटको बिजनेस भनेको पनि असाध्य महत्त्वपूर्ण कुरा हुन्छ । अव त्यो चाहिँ प्रतिपक्षले जे गरिरहेको छ । त्यो चाहिँ बेठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन् ।’


