गत १२ घण्टामा बर्दियाको रम्भापुर केन्द्रमा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा
बर्दिया साउन । गत १२ घण्टाको अवधिमा बर्दियाको रम्भापुर केन्द्रमा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार आज पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।
मौसमविदहरुले २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम वर्षा भएकोलाई ‘हल्का वर्षा’ र १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कमलाई ‘मध्यम वर्षा’ भन्ने गरेका छन् ।
यसैगरी ५० मिलिमिटर वा त्योभन्दा धेरै र १०० मिलिमिटरभन्दा कम वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ ।
१०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम वर्षालाई ‘धेरै भारी’ र २०० मिलिमिटर वा त्योभन्दा बढी वर्षालाई ‘अति भारी वर्षा’ भन्ने गरेका छन् ।


