१४ मंसिर २०८३, आईतवार

नारायणकाजीको रणनीति : शरणार्थी काण्ड बढाउने, ललिता निवास र सुनकाण्ड फासफुस पार्ने

एसीपी संवाददाता

२ भाद्र २०८०, शनिबार २१:३३ मा प्रकाशित

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने काण्डमा नीतिगत निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ ।

उनीहरूमाथि छानबिन भएमा वर्तमान सरकारको भविष्य धरापमा पर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरूसँगको बयान नसमेटी प्रतिवेदन बुझाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई निर्देशन दिएको बताइन्छ । त्यस्तै, प्रचण्ड र श्रेष्ठले सुनकाण्डलाई पनि फासफुस पार्ने रणनीति अख्तियार गरेका छन् ।

नौ किलो र करिब ६१ किलो सुन तस्करीको जरोसम्म नपुगी यो काण्ड यसै सेलाएर जाने भएको छ । सुनकाण्डमा माओवादी र एमालेका नेता एकपछि अर्को जोडिन थालेपछि यसलाई पनि कमजोर मुद्दा बनाएर अदालतमा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । सिआईबीले मुद्दा बुझाउनुअघि प्रहरीले पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईको ‘बयान कागज’ नगर्ने भएको छ ।

यसअघि नेपाल र भट्टराईलाई सरकारी साक्षीको रुपमा ‘कागज’ गर्ने तयारी गरे पनि अनुसन्धान प्रतिवेदन बुझाउनुअघि ब्युरो उनीहरूको बयान कागज गर्नबाट पछि हटेको छ ।

ब्युरो स्रोतका अनुसार सरकारी वकिललाई शुक्रवार नै अनुसन्धान प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चारवटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो ।

साउन २१ मा न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले सो आदेश गरेपछि पूर्वप्रधानमन्त्री भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो ।

तर सरकारले दुवै नेताविरुद्ध बयान नलिन निर्देशन दिएको बताइन्छ । आफ्ना नेताहरू परेको काण्डलाई सामसुम पार्ने, नभए कमजोर मुद्दा तयार पार्न निर्देशन दिएको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणलाई भने झन् कसिलो पार्न दबाब दिएको बताइन्छ ।

सोही कारण अहिले एआईजी श्याम ज्ञवाली र एसएसपी मनोज केसीले यो प्रकरणमा दोस्रो चरणको अनुसन्धान थालेका छन् । गृहमन्त्री श्रेष्ठकै निर्देशनमा ज्ञवाली र केसी अनुसन्धानमा जुटेको स्रोतले बतायो ।

यो काण्डमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । हाल उनीहरू जेलमा छन् । शरणार्थी काण्डलाई दोस्रो, तेस्रो चरणमा अनुसन्धान लम्ब्याउँदै खाँण, रायमाझीलाई जेलमै सडाउने भित्री तयारी रहेको बुझिएको छ । मिडियाडबलि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x