१४ मंसिर २०८३, आईतवार

नेतृत्वका लागि शेखर–गगनको ‘म्याराथन

एसीपी संवाददाता

२ आश्विन २०८०, मंगलवार ०७:५० मा प्रकाशित

देउवाले १५ औं महाधिवेशनमा कसलाई उत्तराधिकारी बनाउने भन्ने लेखाजोखा गरिरहेका बेला संस्थापन इतरखेमामा शेखर कोइराला र गगन थापाबीच नेतृत्वका लागि प्रतिस्पर्धा

काठमाडौँ — १४ औं महाधिवेशनबाट दोस्रो पटक सभापति निर्वाचित शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने लेखाजोखा गरिरहेका बेला संस्थापन इतरखेमामा महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच नेतृत्वको प्रतिस्पर्धात्मक ‘म्याराथन’ सुरु हुने भएको छ ।

कोइरालाले दुई महिनाअघि कान्तिपुर टेलिभिजनको ‘टक सो’ फायरसाइडबाट १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने उद्घोष गरिसकेका छन् । महामन्त्री थापाले औपचारिक तहमा घोषणा नगरे पनि उनका सम्पूर्ण कार्यक्रम र योजना १५ औं महाधिवेशन लक्षित छन् । निर्धारित समयमा महाधिवेशन भए दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने विधानको व्यवस्थाबमोजिम देउवा अबको दुई वर्षपछि पार्टी राजनीतिको केन्द्रीय भूमिकाबाट अलग हुनेछन् ।

कार्यकर्ताको मनोभावना बुझ्न र आफ्नो पक्षमा माहोल सिर्जना गर्न कोइराला र थापाले राजधानीबाहिरका कार्यक्रमलाई प्राथमिकता दिँदा संस्थापन पक्षमा देउवाको उत्तराधिकारी को हुने भन्ने चासो बढेको छ । तर, देउवा यस विषयमा मौन छन् । उनी निकट एक नेताका अनुसार देउवा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय प्रकाशमान सिंह, विमलेन्द्र निधि र पूर्वमहामन्त्री शशांक कोइरालाबीच कसलाई अघि सार्ने भन्नेमा लेखाजोखा गरिरहेका छन् । १५ औं महाधिवेशनमा पार्टीको कार्यकारी पदबाट बाहिरिँदै गर्दा देउवाले श्रीमती आरजुलाई पार्टीको उपसभापति वा महामन्त्रीमा ल्याउन चाहेको बुझाइ संस्थापनपक्षभित्र चर्चाको विषय बनेको छ । आफूपछि आरजुलाई पार्टीमा स्थापित गराउने चाहना पूरा गराउन पनि देउवाले उत्तराधिकारी र महाधिवेशन गराउने समयका बारेमा बदलिँदो राजनीतिको बहाव र परिस्थिति हेरेरै मात्रै निर्णय गर्ने संस्थापन पक्षीय एक नेताले बताए ।

‘पहिलो कुरा, कोइराला परिवारलाई चिढ्याउन चाहनुभएको छैन । गिरिजाप्रसाद कोइरालासँग लामो संघर्ष गरे पनि मलाई अघि बढाउने कोइराला परिवार नै हो भन्ने कुरा बारम्बार सुनाउने गर्नुहुन्छ । पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई एक ठाउँमा राख्न सकेमा परिणाममुखी नतिजा आउँछ भन्ने उहाँलाई परेको छ,’ ती नेताले भने, ‘उपसभापति भएको हैसियतले पूर्ण दाइ स्वाभाविक उत्तराधिकारी हुनुहुन्छ । तर उहाँले कति समन्वय गर्न सक्नुहुन्छ भन्नेमा सभापतिज्यू विश्वस्त भइसक्नुभएको छैन ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x