सर्लाहीमा मूर्ति बिसर्जनमा मुस्लिम समुदायबाट पटक पटक अवरोध, सिडियो यादव र एसपी सुवेदी नै ‘प्रमुख खलनायक’
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा मुस्लिम समुदायले हिन्दु समुदायको मूर्ति बिसर्जनमा पटक पटक अवरोध गरेका छन् । मुस्लिम समुदायको अवरोधका कारण झडप हुन पुगेको छ । महिनाभरमै घटना दोहोरिँदा जिल्लामा कर्फ्यू लगाउनुपरेको छ ।
स्थानीय प्रशासनले अवरोधमा संलग्नलाई पक्राउ गरेर कारवाही चलाउने र शान्तिपूर्ण मूर्ति बिसर्जन गराउनेतिर भन्दा कर्फ्यू लगाएर विवाद बढाउनेतिर लागेको छ ।
शुक्रबार पनि मूर्ति बिसर्जनका क्रममा मुस्लिम समुदायका युवाले घरमाथिबाट पानी फाल्ने, ढुंगा हान्ने गरेर जिस्काउने काम गरेपछि झडप भएको थियो । झडपमा ७ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
झडप भएपछि प्रशासनले सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । गए राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोलपम्प) सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने आदेशमा भनिएको छ ।
मुस्लिमले आपसी द्वन्द्व भड्काउने प्रयास स्वरुप पटक पटक अवरोध गर्दा पनि प्रशासनले कुनै कारवाही नचलाएकोमा यहाँका बासिन्दा असन्तुष्ट छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी उपरीक्षक नरेशराज सुवेदीले एकलौटी रुपमा मुस्लिमहरुको पक्षमा काम गरेको उनीहरुको गुनासो छ ।


