अँध्यारो बस्तीकी नायिका’लाई कथा सम्मान
नेपालगञ्ज । नवोदित कथाकार दिला शाहद्वारा लिखित कथा संग्रह अँध्यारो बस्तीकी नायिकालाई ‘सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ ।
वरिष्ठ कथाकार सनत रेग्मीद्वारा आफू र श्रीमतीको नाममा स्थापित उक्त सम्मान मध्यपश्चिम श्रष्टा समाजले २०७९ सालका लागि शाहद्वारा लिखित अँध्यारो बस्तीकी नायिकालाई प्रदान गरेको हो । श्रष्टा समाजले नेपालगञ्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरेले कथाकार शाहलाई हस्तान्तरण गरे । नगर १० हजार एक सय ११ रुपैयाँ राशीसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा राम्रो कथाकार हुने क्षमता देखिएकोले निरन्तर साधनामा लाग्न आग्रह गरे ।
सम्मानित पुस्तकमाथि आफ्नो समिक्षकीय धारणा राख्दै समिक्षक लेकप्रसाद प्याकुरेलले कथा संग्रहमा नारी पात्र प्रमुख रहेका र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेका धारणा राखे । उनले पात्र र कथालाई थप माझ्न सकेमा शाहले उत्कृष्ट कथाकृति दिन सक्ने धारणा राखे । सम्मानित कथाकार शाहले पुस्तकलाई सम्मान गरिनुले साहित्य लेखनीमा आफूलाई हौसला थपिएको बताइन् ।
बरिष्ठ कथाकार रेग्मीले विद्याकुटिर फउण्डेसनमा रहेको कोषबाट हरेक वर्ष कथाकार वा कथा कृतिलाई उक्त सम्मान प्रदान गरिने बताए । उक्त सम्मान हरेक वर्ष रेग्मीको जन्मोत्सवका दिन प्रदान गर्न मध्यपश्चिम श्रष्टा समाजले संयोजक र व्यवस्थापकको भूमिका खेल्ने समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए । सम्मान प्रदान गर्ने कार्यक्रममा विद्याकुटिर फाउण्डेसनले नै प्रकाशित गरेको डा. एकनारायण पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली कथामा आन्चलिकता’को विमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशिराम कार्की, लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, ओलम्पियन सुरेन्द्र हमाल र कथाकार सुमित्रा न्यौपानेले बोलेका थिए ।


