चीन पुगेका प्रधानमन्त्री प्रचण्डको यस्तो छ भ्रमण तालिका
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिनबार चीनको हाङजाओ पुगेका छन्। चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्डलाई हाङजाओ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले स्वागत गरेका थिए।
यस्तै प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदान पनि स्वागतका लागि पुगेका थिए।
भोली प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानेछन् जहाँ उनले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन्।
त्यसैगरी राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा गर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।


