फेरिएका छन् सत्ताका अनुहार : फेरिएको छैन ईः को आवाज
कोभिडमा पीसीआर परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन र अस्पतालसम्मको अव्यवस्था तथा स्वास्थ्य सामग्री खरिदमा भएको बेथितिविरुद्ध फेसबुकबाट सुरु अभियानले बालुवाटार घेर्यो । ०७७ को जेठ अन्तिम साता हजारौं युवा सडकमा ओर्लिएर भनेका थिए– ‘इनफ इज इनफ’ । जसका अभियन्ता थिए ईः ।
हनुमानढोका निजीकरण गर्न खोजिएपछि त्यसविरुद्ध अग्रसर उनी ‘म स्वदेशी’ अभियानमा सक्रिय थिए । ‘अकुपाई बालुवाटार’ आन्दोलनमा पनि उनी नेतृत्वदायी भूमिकामा रहे ।
काठमाडौँ — सडक छेउ पोकामा लुगाफाटा बेच्नेको भागाभाग, साइकलमा फलफूल र तरकारी बेच्नेको कुदाकुद । ठेलामा मकै पोल्ने महिलाको रुवाबासी । यस्ता अमानवीय दृश्य देख्न अभ्यस्त हुन लागिसकेको देशलाई झकझकाउन अभियन्ता ईः सडकमा निरन्तर उभिएको आठ दिन नाघिसक्यो ।
तर, हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर उनी अचानक सभागृहको गेटमा प्रकट भएका भने होइनन्, २८ वर्षका यी युवासँग सामाजिक न्यायको आन्दोलनको गहिरो पृष्ठभूमि छ ।
कोभिडका कारण देशभर निषेधाज्ञा जारी हुँदा सबै घरभित्र थुनिएका थिए । न परीक्षण सर्वसुलभ थियो, न त उपचारको राम्रो प्रबन्ध । नागरिकको जीवनरक्षामा खटिनुपर्ने बेला सरकार लकडाउन घोषणा गरेर निर्धक्क थियो । विदेशबाट फर्किएका मजदुरहरू सीमामा महिनौं अलपत्र थिए, सहरमा मजदुरी गर्नेहरू कष्टपूर्ण रूपमा पैदलै गाउँ फर्किएका देखिन्थे ।
पीसीआर परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन र अस्पतालसम्मको अव्यवस्था तथा स्वास्थ्य सामग्री खरिदमा भएको बेथितिले सरकारप्रति असन्तुष्टि बढ्दो थियो, तर निषेधाज्ञाको घेरा नाघेर सरकारविरुद्ध उत्रिने हिम्मत कसैले गरेका थिएनन् । त्यसबेला फेसबुकबाट सुरु भएको अभियानले बालुवाटार घेर्यो । ०७७ को जेठ अन्तिम साता हजारौं युवा सडकमा ओर्लिएर भनेका थिए– ‘इनफ इज इनफ’ । सञ्जालदेखि सडकसम्म उक्त अभियान हाँक्ने एक युवा थिए, ईः अर्थात् एक विद्रोही युवा ।


