१४ मंसिर २०८३, आईतवार

नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफैं सकिनेछन् : स्वास्थ्यमन्त्री बस्नेत

एसीपी संवाददाता

१२ आश्विन २०८०, शुक्रबार ०८:२३ मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफैं सकिने बताएका छन्।

नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले बिहीबार राजधानीमा विजया दशमीको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको बलियो जग बसिसकेकाले कसैले षड्यन्त्र गर्दैमा कांग्रेस कमजोर नहुने दाबी गरे।

पार्टीभित्र बिगार्न चाहनेभन्दा सपार्न चाहनेको संख्या अत्यधिक भएकाले सानोतिनो असमझदारीले पार्टीमा ठूलो क्षति नहुने बस्नेतले बताए। उनले भने,  ‘सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले गरेका काम र संगठनदेखि कम्युनिष्टहरु आत्तिएका छन्। उनीहरुले हाम्रै साथीहरुलाई लोभमा पारेर पार्टी कमजोर गर्न उक्साइरहेका छन्। उनीहरुको षड्यन्त्रबाट बच्नुपर्छ।’

कम्युनिष्टका मतियार र हतियार बनेर लाग्ने गरेकाहरुलाई पार्टीले कडा कारबाही गर्ने नेता बस्नेतले चेतावनी दिए। सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जग बलियो भइसकेको दाबी गर्दै कांग्रेस कमजोर पार्न कसैको तागत नभएको बस्नेतको दाबी थियो।

हिजोका दिनमा केही कमजोरी भएको भए त्यसलाई सच्याएर जाने तर गलत प्रवृतिसँग भने कहिल्यै घुँडा नटेक्ने बस्नेतको चेतावनी थियो। आफूले ३ पटक निर्वाचित भएर ३ पटक मन्त्री भइसकेको बताउँदै अब नयाँ पुस्ताको राजनीतिक भविश्य सुनिश्चित पार्नका लागि युवाहरुले नेपाली कांग्रेस बलियो बनाउँदै लैजानुपर्ने बस्नेतले बताए।

कार्यक्रममा पूर्व गृह राज्य मन्त्री विष्णुविक्रम थापाले मोहन बस्नेत जस्तो हिम्मतिलो र विकासप्रेमी नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको विषय भएको बताउँदै पार्टी एक ढिक्का भएर अगाडि बढाउनुपर्ने दायित्व सबै नेताको भएकोमा जोड दिए।

कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले पार्टीमा गुट उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिँदै विपक्षीको लहलहैमा लाग्नेले पार्टीमा भोलिका दिनमा स्थान नपाउने बताइन्। बागमती प्रदेशका सांसद कृष्णकुमार समिरले पार्टीभित्र गुट उपगुट बनाएर पार्टी कमजोर बनाउनेहरुको हिसाप किताब चाँडै हुने बताउँदै बाटो बिराउन खोज्नेहरुले समयमै सच्चिनुपर्ने सुझाव दिए। आयोमेल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x