नेपाली सुपारीको बजार खोज्न कृषि समिति सभापति राणा सक्रिय, सभामुखलाई लेखिन चिठ्ठी
काठमाडौं । नेपालमा उत्पादित सुपारी अन्य देशमा निर्यात नहुँदा किसान निराश छन् । आफूले उत्पादन गरेको सुपारीले उचित बजार नपाएपछि उनीहरुले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा निवेदन दिएका थिए । आफूहरुले उत्पादन गरेको १४ हजार मेट्रिक टन सुपारी विक्री नभएको, छिमेकी देशमा निर्यात गर्न नपाएको गुनासो नेपाली किसानहरुले गरेका छन् ।
नेपाली किसानहरुको गुनासोपछि कृषि समिति सभापति डा. आरजु राणा देउवाले पहलकदमी लिएकी छन् । यो एजेण्डामा आफ्नो समितिमा मन्त्री नै बोलाएर छलफल गरेकी राणाले निकास निकाल्न यससँग जोडिने संसदीय समितिहरुको संयुक्त बैठक राख्ने तयारी गरेकी छन् । नेपाली किसानको सुपारीको बजार खोज्ने उनले उद्योग र अर्थ समितिका सभापतिसँग पनि परामर्श गरेकी छन् ।
तीनवटै समितिको संयुक्त बैठक राख्नका लागि अनुमति दिन सभामुख देवराज घिमिरेलाई चिठ्ठी पनि लेखेकी छन् । सभापति राणाले आफ्नो समितिमा छलफल गर्दा सुपारी छिमेकी भारतमा निर्यात गरी बेच्नुपर्ने निष्कर्ष निस्किएको थियो । नेपाली सुपारी भारत निर्यात गर्न समितिले सहजीकरण गर्ने राणाले बताएकी थिइन् । यसैअन्तर्गत उनले तीनवटा समितिको संयुक्त बैठक बोलाउने प्रयत्न गरेकी हुन् ।
सभामुखबाट अनुमति पाएपछि संयुक्त बैठक बस्नेछ । चाडपर्व नजिकिँदै गएकाले चाँडै बैठक राख्ने सभापति राणाको ताकेता छ । समिति सभापति भइसकेपछि राणाले समितिमा आएका गुनासोका विषयमा छलफल तथा समसामयिक विषयमा पनि चासो राखेर मिनी संसदलाई चलायमान बनाउँदै लगेकी छन् ।


