१४ मंसिर २०८३, आईतवार

हमासको आक्रमण निन्दनीय : पूर्व राजदूतहरू

एसीपी संवाददाता

७ कार्तिक २०८०, मंगलवार ०८:५५ मा प्रकाशित

काठमाडौँ  । नेपालका सात पूर्व राजदूतहरूले इजरायल र प्यालेस्टाइनबिच हिंसाको नयाँ लहर सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण र त्यसपछि इजरायलले गाजामा सुरु गरेको कारबाहीको भर्त्सना गरेका हुन् ।

विज्ञप्ती जारी गर्ने पूर्व राजदूतहरूमा नीलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेशमान सिंह श्रेष्ठ, टंक कार्की, लिलामणि पौड्याल र महेश मास्के रहेका छ्न । उनीहरूले हमासको आक्रमण निन्दनीय र त्यसको प्रतिक्रियामा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै प्रतिहिंसाको सिलसिला सुरु गरेको जनाएका छन् ।

‘हामी प्यालेस्टिनी जनताको अधिकारका पक्षमा छौँ तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भर्त्सना गर्दछौँ,’ वक्तव्यमा भनिएको छ , ‘हमास समूहको यो निन्दनीय कार्यको प्रतिक्रियाका नाममा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै जुन प्रतिहिंसाको सिलसिला सुरु गर्‍यो ।’ उनीहरूले गाजामा हिंसाका घटना जारी रहँदा त्यसले ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ ।

‘गाजापट्टीलाई सैनिक नाकाबन्दी गरिएको छ भने विद्युत्, खाद्यान्न, पिउने पानी, औषधिको आपूर्ति रोकिएको छ र आवासको हाहाकार भएको छ | नागरिक बस्तीमा बमगोला बर्साइएको छ र पुरै गाजापट्टीलाई खाली गर्न उर्दी जारीको विषयले गरिएको छ | हिंसाका घटना जारी रहँदा यसबाट यस क्षेत्रमा ठुलो मानवीय संकट पैदा भएको छ,’ वक्तव्यमा भनिएको छ ‘अस्पताल जस्तो ठाउँमा गोलाबारी गरी स्वास्थ्यकर्मी, बिरामी, घाइते र बिरामी कुरुवाको हत्या जस्तो बर्बर र जघन्य अपराधको जति भर्त्सना गरे पनि पुग्दैन। इजरायलको यो राज्य आतंक निन्दनीय छ |’

उनीहरूले अहिलेको संकटपूर्ण घडीमा संयुक्त राष्ट्रसङ्घले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न, सर्वसाधारणको ज्यान जोखिमबाट जोगाउन र सर्वसाधारणलाई तत्काल मानवीय सहायता पुर्‍याउन असमर्थ हुने हो भने यसको औचित्यमा नै प्रश्न उठ्ने बताएका छन् ।

‘युद्ध र हिंसाले कुनै समाधान दिदैन भन्नेमा हाम्रो दृढ विश्वास छ | हामी संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुरूप दुई राज्य सिद्धान्तअन्तर्गत प्यालेस्टिनी राज्यको सही कार्यान्वयनले मात्र मौजुदा समस्याको दीर्घकालीन समाधान हुन्छ भन्ने वास्तविकतामा हाम्रो पनि दृढ विस्वास रहेको व्यक्त गर्न चाहन्छौं,’ वक्तव्यमा भनिएको छ ।

इजरायल र प्यालेस्टिन दुवै पक्षलाई संयम रहन र पूर्ववर्ती समस्त सम्झौतालाई सम्मान गर्न तथा सम्पूर्ण मामिलाको शान्तिपूर्ण ढंगले समाधान खोज्न उनीहरूले आह्वान गरेका छन् । ‘सर्वप्रथम युद्ध र हिंसा रोकिनुपर्दछ, सम्झौताका निम्ति शान्तिपूर्ण वातावरण बनाइनुपर्दछ र वार्ता र कुटनीतिलाई माध्यम बनाइनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ,’ वक्तव्यमा भनिएको छ, ‘युद्ध र हिंसा भड्किदा नेपालजस्तो शान्तिप्रिय मुलुक र असंलग्न राष्ट्रका नागरिकलगायत सम्पूर्ण विश्व नै यसको नकारात्मक असरको चपेटामा परेका छन् |’

इजरायल-प्यालेस्टिनी समस्या लामो समयदेखि थाती रहँदै आएको समस्या भएको भन्दै उनीहरूले समस्याको दीर्घकालीन समाधानमा नेपाल सरकारलगायत अन्तर्राष्ट्रिय समुदाय उदासीन रहनु उचित नहुने जनाएका छन् । ‘यसमा सकरात्मक हस्तक्षेप जरुरी छ | यस संकटपूर्ण घडीमा हामी विशेष गरी संवद्ध अन्तर्राष्ट्रिय समुदायलाई चालु स्थितिमा आगोमा घिउ थपेर होइन, यो संकट समाधनका निम्ति आफ्नो ठाउँबाट तत्काल युद्धविराम र गाजाक्षेत्रमा मानवीय सहायता पुर्याउनका लागि सकारात्मक पहल गर्न आह्वान गर्दछौँ,’ उनीहरूले भनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x