जाजरकोटका भूकम्प पीडितका लागि कांग्रेसले दियो ५० लाख रूपैयाँ, राहत र उद्वारमा जुट्न सबैमा अपिल
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितको उद्वार, राहत र पुनर्स्थापनाका लागि ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली पार्टीका तर्फबाट ५० लाख रूपैयाँ दिने निर्णय भएको हो ।
`जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गर्दछ,´ कांग्रेसले भनेको छ ।
`यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले रु. ५०,००,०००।- (पचास लाख) नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,´ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको छ ।


