२ आश्विन २०८३, शुक्रबार

एक बर्षमा भारत बाट १५ अर्ब २४ करोड कमायो नेपालले

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार १४:५४ मा प्रकाशित

यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोडबराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत  जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु. १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो।

प्राधिकरणले यस अवधिमा दैनिक रूपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो। निर्यात गरिएको विद्युतकाे औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ।

चालू आर्थिक वर्ष ०८०/८१ को साउनदेखि २० मंसिरसम्ममा रु. १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ। यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युतकाे औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ।

सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट उत्पादन घट्न सुरु भएको छ। तर, जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा विद्युतकाे अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।

उनका अनुसार पिक समयमा आयात गर्दा विद्युतकाे दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरूमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ।

उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे तापनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिए। निर्देशक घिसिङका अनुसार यस वर्ष करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष करिब रु. २५ अर्बको विद्युत् निर्यात हुनेछ।

प्राधिकरणले जेठमा रु. २१ करोड ६० लाख, असारमा रु. एक  अर्ब ७८ करोड ५३ लाख, साउनमा रु. दुई अर्ब १४ करोड ७६ लाख र  भदौमा रु. तीन अर्ब ४७ करोड ८५ लाखबराबरको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा रु. चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा रु. दुई  अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा रु. ७३ करोड ५९ लाख विद्युत् निर्यात गरी आर्जन भएको छ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय ४७ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी ६ सय ५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। नयाँपत्रीका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x