इस्लाम धर्मावलम्बी तथा सम्पूर्ण इस्लाम जगतकै पहिलो र पुरानो मस्जिद कुबा मस्जिद
अरशद शेष राई / पौष 20 गते – साउदी मदिना बाट इस्लाम धर्मावलम्बी तथा सम्पूर्ण इस्लाम जगतकै पहिलो र पुरानो मस्जिद कुबा मस्जिद हो । यो मस्जिद आजभन्दा १४०० वर्ष अघि निर्माण भएको थियो ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैह वसल्लम साउदी अरेबियाको शहर मक्काबाट हिजरत (प्रस्थान) गरेर मदिना आएपछि अरबी संवत १ हिजरीको दिन कुबा मस्जिदको जग राख्नु भएको थियो । कुबा मस्जिदको जग राख्दा पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैह वसल्लमले ४ जना सहाबे करामसँग मिलेर जग राख्नु भएको थियो ।
कुबा मस्जिदको जगको पहिलो इट्टा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैह वसल्लमले राख्नु भएको थियो भने दोस्रो इट्टा सहाबे कराम हजरत अबु बकर सिद्दीक रजिअल्लाह अनहु, तेस्रो इट्टा हजरत उमर फारुक रजिअल्लाह अनहु, चौथो इट्टा हजरत उसमाने गनी रजिअल्लाह अनहु र पाँचौ इट्टा हजरत अली रजिअल्लाहु अनहुलाई हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैह वसल्लमले राख्न लगाउनु भएको कुरा इस्लामिक विद्वान मौलाना अमीर खान बताउनु हुन्छ ।
कुबा मस्जिदमा २ रकात नफ्ल नमाज पढ्दा १ हज उमराहको सवाब (पुण्य) मिल्ने कुरा मौलाना खानले बताउनुभयो ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैह वसल्लम हप्ताको ६ दिन कुबा मस्जिद र १ दिन जुमा (शुक्रवार)को दिन मस्जिदे नब्वी हरम शरीफमा बस्ने गर्नु भएको कुरा पनि मौलाना खानले बताउनु भयो ।
विश्वभरिबाट मक्का मदिनामा हज उमरा गर्न आउने हाजीहरुले कुबा मस्जिदमै नमाज पढ्ने दुवा माग्ने र यो मस्जिदको जियारत (दर्शन) गर्ने गर्छन् । कुबा मस्जिद साउदी अरबको शहर मदिनामा मस्जिदे नब्वी हरम शरीफदेखि लगभग ३ किलोमिटरको दूरीमा रहेको छ ।





