१७ कार्तिक २०८१, शनिबार

जनतामारा जस्ता निकृष्ट कार्य गर्ने बास्कोटालाई सिंहदरबारभित्र छिर्न नदिन आह्वान -बस्नेत

एसीपी संवाददाता

८ फाल्गुन २०७६, बिहीबार २३:५८ मा प्रकाशित

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गाकुल बास्कोटाले घिनलाग्दो र जनतामारा काम गरेको बताएका छन् ।
अध्यक्ष बस्नेतले बिहीबार विज्ञप्ति जारी गरेर देश र जनतामारा जस्ता निकृष्ट कार्य गर्ने बास्कोटालाई सिंहदरबारभित्र छिर्न नदिन आह्वान गरेका छन् । उनले बास्कोटालाई भ्रष्टाचारको अभियोगमा मुद्धा चलाउन सरोकारवाला निकायसँग माग गरेका छन् ।
‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा वर्तमान अधिनायकवादी कम्युनिस्ट ओली सरकारको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको खेलमा देशलाई घोर अपमान गरी आर्थिक नोक्सानीको तानाबाना बुनेको देश र जनतामारा निकृष्ट कार्यप्रति नेपाल तरुण दल केन्द्रीय कार्यसमिति गम्भीर आपत्ति प्रकट गर्दछ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले भने, ‘राज्य शक्तिको दुरुपयोग गर्दै एक जिम्मेवार मन्त्री यस्तो घिनलाग्दो कुकर्मतर्फ उन्मुख हुनु कदापि क्षम्य हुनु हुँदैन ।’
‘उक्त प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बास्कोटाले कम्पनीका एजेन्ट (दलाल)सँग ७० करोड कमिसनको तानाबाना बुनेको अडियो सार्वजनिक भई गरिव नेपाल र नेपालीलाई धोका दिइ भ्रष्टाचारको दुर्नियत राखेकोप्रति नेपाल तरुण दल केन्द्रीय कार्यसमिति घोर निन्दा र भर्त्सना गर्दछ’, बस्नेतले भनेका छन् ।
‘यस्ता भ्रष्टाचारी र राष्ट्रघाती एवम् देश र जनतामारा भष्मासुरलाई आफ्नो पदीय मर्यादाभन्दा बाहिर गई गरेको उक्त कार्यको निष्पक्ष अनुसन्धानको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग जोड्दार माग गर्दै अनुसन्धानको प्रक्रियालाई सघाउन र भ्रष्टाचारीलाई सिंहदरबारबाट गल्हत्याउन वर्तमान सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसद ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछौँ’, तरुण दलका अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘गोकुल बास्कोटा जस्ता कुख्यात भ्रष्ट र राष्ट्रघातीलाई कतै यसो र उसोको बहानामा संरक्षण गर्ने काम यस कम्युनिस्टको ओली सरकारले गर्‍यो भने नेपाल तरुण दल यसको विरुद्धमा आन्दोलनको आँधीबेहरी ल्याउन बाध्य हुने चेतावनी यस विज्ञप्तिमार्फत दिन चाहन्छौँ’, अध्यक्ष बस्नेतले भनेका छन् । सभार रिपब्लिका दैनिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x