सरकारको दुई वर्ष पुगेको दुई साता नबित्दै प्रधानमन्त्री ओलीको सरकारविरुद्ध संसद्मा प्रतपक्षी एकै स्वरमा

फागुन १३ एजेन्सी । सरकारको दुई वर्ष पुगेको दुई साता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध संसद्मा प्रतपक्षी दलहरू एकै स्वरमा बोल्न थालेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरू कांग्रेस, राजपा र समाजवादी पार्टीले एकै स्वरमा सरकार भ्रष्टाचारमा डुबेको भन्दै त्यसलाई अन्त्य गर्न प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् ।
यसअघि बिहीबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसले मंगरबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, वाइडबडी, न्यारोबडी, ललिता निवास जग्गा प्रकरणमा व्यापक भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्रीले यी विषयमा जवाफ दिनुपर्ने माग गरेको हो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले दुई दिन पहिले तामझामसहित मनाएको जन्मदिनको पनि आलोचना गरेका छन्।
मंगलबारको बैठकको सुरुमै ढ्यापढ्यापे समय मागेर कांग्रेस, राजपा र समाजवादीले प्रधानमन्त्रीबाट भ्रष्टाचार प्रकरणमा जवाफ माग गरेका हुन्। यी तीन दलको प्रश्नको केन्द्रमा भ्रष्टाचार थियो र जवाफ प्रधानमन्त्रीबाट मागेका थिए।
व्यंग्यसहित प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिएर बोल्न सुरु गरेका कांग्रेस सांसद मिनेन्द्र रिजालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बढी कमिसन दिने कम्पनीलाई दिन खोजेको आरोप लगाए। ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा जसले बढी कमिसन दियो उसलाई दिन खोजेका थिए। लेखा समितिले सेक्युरिटी प्रेस खरिदबारे छानबिन गर्न लेखा समितिले निर्देशन दिएको छ,’ उनले भने, ‘७० करोड कमिसन माग्दा मन्त्रीलाई लाज लागेन? भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको होइन?’
रिजालले प्रधानमन्त्री र यति होल्डिङ्सको सम्बन्धबारे पनि प्रश्न गरेका थिए। त्यस्तै बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा आफू निकटकालाई छुट दिएको र प्रतिपक्षी तथा आफ्नो गुटबाहिरका व्यक्तिलाई कारबाही गर्ने एवं तर्साउने काम भइरहेको पनि बताए।