प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना नियन्त्रण र रोकथाममा खर्च भएको १० अर्वको हिसाव सदनमा जानकारी गराउन माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथामका लागि खर्च भएको १० अर्वको हिसाव सदनमा जानकारी गराउन माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले सरकारले अदालत, संसद तथा प्रेस कसैको पनि आवाज नसुनेको आरोप लगाउनुभयो । उहाले कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको समेत बताउनुभयो । कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गर्नुभयो । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उहाँले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिनुभयो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उहाँले गर्नुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का छविलाल विश्वकर्माले गए राति रुपन्देहीमा भएको घटनाको निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्नुभयो



