३ असार २०८१, आईतवार

दाङमा सत्तारुढ (नेकपा)का नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

एसीपी संवाददाता

१९ फाल्गुन २०७६, सोमबार १४:०७ मा प्रकाशित

दाङमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
दाङको रामपुर र बाह्रकुनेमा शनिबार भएका अलग–अलग कार्यक्रममा नेकपाका सयौँ नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । दाङबाट प्रदेश सभामा निर्वाचित नेकपाका शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री भएका बेला नेकपाभित्र पहिरो गएको छ ।
कांग्रेस घोराही उपमहागरपालिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा रामपुरमा कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम र कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा बाह्रकुने दहमा वडा समितिको वार्षिक साधारणसभा र वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस वडा नम्बर २ का सभापति रेवतीप्रसाद घिमिरेको सभापतित्व एवम् कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यतमा रामपुरमा भएको कार्यक्रममा नेकपा पार्टी छोडेर दुई सय ५० जना नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
पूर्वी दाङका पुराना वामपन्थी नेता गिरिराज गिरी, टेकबहादुर चौधरी, दण्डीराम पाण्ड लगायत २ सय ५० जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टी जिल्ला सभापति खड्का र कांग्रेस नेता कमलकिशोर घिमिरेले पार्टी सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका थिए ।
पार्टीभित्र सम्मान नभएको, पार्टीमा बिचलन आएको, आफ्ना क्षमता नभएकालाई काखी च्याप्ने र क्षमतावान पुराना कार्यकर्तालाई वेवास्त गर्ने पार्टीमा बसेर जनहितमा काम गर्न नकिने भन्दै आफूहरू कांग्रेसमा प्रवेश गरेको उनीहरूले कार्यक्रममा बताएका छन् ।
कांग्रेसका नेताहरूले अहिले दुईतिहाइको वामपन्थी सरकारले जनहितमा काम गर्न नसेकेको भन्दै सरकारको आलोचना गरेका छन् । कांग्रेसका पालामा धेरै काम भएको भन्दै वक्ताहरूले कांग्रेसले अब आफूलाई सच्चाएर जनहितमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
दाङ कांग्रेसका जिल्ला सभापति खड्काले कांग्रेस सत्तामा नभएको बेलामा पनि जिल्लाभर कांग्रेसमा प्रवेश गर्नेको लर्को लाग्नुले पनि कम्युनिस्ट सरकारले काम गर्न नसकेको भन्ने स्पष्ट हुने दावी गरे ।
कांग्रेसका युवा नेता कमलकिशोर घिमिरेले कांग्रेसको पहलमा रामपुर क्षेत्रमा विकास निर्माण भएका कार्यक्रमबारे जानकारी गराउँदै निर्वाचित जनप्रनिधि सहित अहिलेको सरकारले रामपुर क्षेत्रका लागि उल्लेखनीय कुनै पनि योजना ल्याउन नसकेको बताए ।
कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति वीरकेशरी गौतम, कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, कांग्रेस नेता कमलकिशोर घिमिरे, कांग्रेस क्षेत्रीय सभापतिहरू भूपबहादुर डाँगी, भेषराज खत्री र गिरिराज सुवेदी, कांग्रेस नेता जानकीलाल बस्नेत, मधु न्यौपाने, नेपाल विद्यार्थी संघका निरज पाण्डेय लगायतकाले धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका क्षेत्रीय सचिव चुडामणि आचार्यले गरेका थिए ।
यसैबीच, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा बाह्रकुने दहमा भएको वडा समितिको वार्षिक साधारणसभामा ‘हाम्रो कांग्रेस हाम्रो सम्पर्क’ नामक कांग्रेसको घोराही उपमहानगर समितिले प्रकाशन गरेको पुस्तकको बिमोचन गरिएको छ ।
वडा सभापति प्रकाश श्रेष्ठको सभापतित्व एवम् संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा प्रमुख अतिथि खनालले पुस्तकको विमोचन गरेका छन् ।
युवा नेता खनालले वर्तमान सरकार जनताको हितमा भन्दा पनि सत्तामा रहेका नेताहरूको व्यक्तिगत फाइदामा लागेको बताए ।
कम्युनिस्ट सरकारमा रहेका मन्त्री र जिम्वेवार नेताहरूका काण्डले पनि सरकारले कसको पक्षमा काम गरिरहेको छ भन्ने स्पष्ट भइसकेको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस दाङका उपसभाति कमानसिंह भारती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पूर्व जिल्ला सचिव ध्रुव ज्ञवाली, महासमिति सदस्य पुष्पा श्रेष्ठ, नगर सभापति मनोज बुढाथोकी, किशोरचन्द्र गौतम, दिलिपकुमार डिसी, तिलक रावत लगायतले धारणा राखेका थिए ।रिब्लिक दैनिक सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x