कोरोना ,मुलुक र आमनागरिकले उच्च सतर्कता नअपनाएको यसको विस्तार र प्रभाव रोक्न नसकिने

यतिबेला विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस रोग–२०१९ अर्थात् ‘कोभिड–१९’ को संक्रमण गर्मी बढ्दै जाँदा जोखिम र विस्तार पनि मत्थर हुँदै जान सक्ने विज्ञहरूले औंल्याएका छन् ।
नेपाललगायतका मुलुकमा गर्मीयाम सुरु भइसकेको अवस्थामा देखिएको कोरोनो भाइरस प्रकोप वातावरणीय तापमान बढ्दै जाने क्रमसँगै संक्रमणको अवस्थाबाट जोगिन सक्ने दाबी गरिएको छ । तर मुलुक र आमनागरिकले थप उच्च सतर्कता नअपनाएको खण्डमा भने यसको विस्तार र प्रभाव रोक्न नसकिने जोखिम पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन् ।
‘हाल गर्मीयाम सुरु भएकोले तापक्रम विस्तारै बढ्दै गएको छ । यो भाइरस तापक्रम संवेदनशील भएकाले हामीलाई फाइदा हुन्छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले कान्तिपुरसँग भने, ‘गर्मी बढेपछि यसको संचारको क्रम (ट्रान्समिसन ब्रेक) टुट्छ हुन्छ ।’
हालै पत्ता लागेको कोरोना भाइरसले गर्दा हुने संक्रामक रोग ‘कोभिड–१९’ यसअघि कतै देखिएको थिएन । गत डिसेम्बरमा चीनको बुहानमा यसको प्रकोप देखिएपछि विस्तारै चीन हुँदै विश्वव्यापी रूपमा फैलिएको हो । कोभिड–१९ फैलाउने जीवाणु गर्मीयाममा सतहमा पर्दासमेत निष्क्रिय हुने भएकाले हाल देखिएको डर गर्मी सुरु हुन लाग्दा कम हुने डा.पाण्डे औंल्याउँछन् ।
‘कोभिड–१९ संक्रमण उत्पन्न गर्ने ‘आरएनए’ भाइरस भएकाले कोठाको तापक्रम (करिब २४ डिग्री सेन्टिग्रेड) भन्दा माथिको तापक्रममा छोटो समयमै निष्क्रिय हुन्छ । ‘डीएनए’ भाइरस मध्येका ‘हेपाटाएटिस–बी’ जस्ता भाइरस ६० डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा जीवित रहने डा. पाण्डे बताउँछन् ।
‘यसको प्रकोप चीनमा फैलिएको समय (डिसेम्बरमा) त्यहाँ धेरै चिसो थियो । विगतका घटना हेर्दा यस्ता भाइरसहरू चिसोलगायतका उपयुक्त तापक्रममा बढ्छन् तर बढी गर्मीमा खासै वृद्घि हुँदैन,’ वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा.रमेश चोखानी गर्मीमा तापक्रम वृद्घिसँगै ‘कोभिड–१९’ को केसमा कमी आउने दाबी गर्छन् ।
उनका अनुसार, नेपाल लगायतका मुलुकको तापक्रममा वृद्घि भए पनि विश्वका धेरै ठाउँको तापक्रममा कमी नै हुने भएकाले यो भाइरस पुनः अर्को वर्ष मुलुकमा आउने सम्भावना जारी नै रहने भएकाले अहिलेदेखि नै थप संवेदनशीलता अपनाउनुपर्छ ।
हालसम्म मुलुकमा चीनबाट फर्केका एकजना विद्यार्थीलाई यो संक्रमण देखिएको छ । ती विद्यार्थीको गत माघ ९ गते र्यालको नमुना जाँच गर्दा कोराना भाइरस पुष्टि भएको थियो । हाल उनी पूर्ण स्वस्थ भइसकेका छन् । मुलुकमा मधेसदेखि पहाड, हिमालसम्म स्थानीय नेपाली समुदायमा यो संक्रमण हालसम्म देखिएको छैन ।
हालसम्म ‘कोभिड–१९’ को आयातीत संक्रमण मात्र देखिएको औंल्याउँदै डा.पाण्डे राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलजस्तै सीमा क्षेत्रका नाकामा समेत कडा रूपमा परीक्षण गर्ने सशक्त हेल्थ डेस्क हुनुपर्ने आवश्यकता औंल्याउँछन् । यति मात्र नभई, बस स्ट्यान्ड, पर्यटक बढी आउने स्थल, विभिन्न सहरको प्रवेशद्वारमा हेल्थ डेस्क हुनु आवश्यक छ । हाल नेपालमा यो रोगको जोखिम स्थानीय रूपमा संक्रमण देखिएको चीन, दक्षिण कोरिया, इरान, इटाली, जापानमाबाट आउने व्यक्तिबाट छ ।
‘कोभिड–१९’ को संक्रमण ९० प्रतिशतजति चीनमा र १० प्रतिशत जति चीनबाहिर देखिएको छ । चीनबाहिर ८० प्रतिशत केस दक्षिण कोरिया, इरान, इटाली, जापानमा देखिएको हुनाले हालका लागि यो मुलुक आवातजावत बन्द गर्नुपर्ने डा.चोखानी बताउँछन् । ‘कोभिड–१९’ संक्रमण चीनमा नियन्त्रणतिर गइरहे पनि भारतलगायतका अन्य मुलुकमा विस्तार भइरहेकाले नेपाल थप जोखिममा रहेको छ ।