१ श्रावण २०८३, शुक्रबार

नेपाली राजनितीमा चिनको ठाडो हस्तक्षेप सरकार बनाउने गिराउने खेलमा भेटघाट तिब्र हुने कारण

एसीपी संवाददाता

२४ असार २०७७, बुधबार ०५:३८ मा प्रकाशित

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएकी छिन्। आइतबार साँझ नेकपाका नेता माधवकुमार नेपालसँग भेट गरेकी राजदूत याङछीले मंगलबार वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेकी छिन्। पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगै नेता खनाल र नेपालले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीलाई राजीनामा दिन दबाब दिइरहेका छन्। पार्टी विवाद उत्कर्षमा पुगेर फुटको सँघारमा पुगिरहेका बेला उनले असन्तुष्ट दुई शीर्ष नेतासँग भेट गरेकी हुन्।  

यसअघि पनि गत वैशाखमा नेकपाको विवाद चुलिँदै जाँदा उनले भेटघाटलाई तीव्र बनाएकी थिइन्। जसले तत्कालका लागि नेकपाको विवाद मत्थर भएको थियो। अहिले पनि चिनियाँ राजदूतको सक्रियतासँगै नेकपाभित्रको विवाद तत्काललाई थामिने कतिपयको अनुमान छ।  

चीनले देखिने गरेर कसैको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्ने विगतको परिपाटीका कारण चीनले शान्त कूटनीतिलाई अवलम्बन गर्दै आएको विश्वास गरिन्थ्यो। तर, पछिल्लो समय भने चीनले महसुस हुने गरेर आफ्नो सक्रियता बढाइरहेको छ। चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की भने विगतमा एउटा मात्र शक्तिसँग चीनले डिल गर्नुपर्ने भएकाले त्यस्तो देखिएको बताउँछन्। ‘पहिले उनीहरूले डिल गर्नुपर्ने एउटा मात्र शक्ति थियो, अहिले धेरै शक्ति छन्,’ उनले भने। कार्की सरोकारवालासँग भेटघाट गर्नुलाई स्वाभाविक मान्छन्। नेपालको स्थिरतासँग यस क्षेत्रकै स्थिरताको विषय पनि जोडिएकाले हस्तक्षेप भन्दा पनि परिस्थिति बुझ्ने अर्थमा चिनियाँ राजदूतले भेटघाट गरेको हुनसक्ने कार्की बताउँछन्। उनी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट गर्दा नेपालको राजनीतिक नेतृत्वले पालना गर्नुपर्ने प्रोटोकल भने पालना नगरेको बताउँछन्। ‘हामी प्रोटोकलका विषयमा बढी लचिला छौं,’ उनले भने।  

कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भने नेपालमा भारत र पश्चिमा शक्तिको सक्रियता बढिरहेको बेला चीन पनि सक्रिय भएको बताउँछन्। चीनले सत्तारुढ दल नफुटोस् र नेपालमा स्थिरता होस् भन्ने चाहेकाले उसको सक्रियता बढेको श्रेष्ठको भनाइ छ। ‘नेपालमा आफ्नो भूमिका सुदृढ गर्न पश्चिमा शक्ति र भारत सत्तारुढ दललाई फुटाउन चाहन्छन् तर चीन जोड्न चाहन्छ,’ उनले भने।

अहिले चीन हिजोको जस्तो अवस्थामा नरहेकाले आफ्नो भूराजनीतिक स्वार्थ संरक्षणका लागि नेपालमा खुला रूपमा आउन थालेको श्रेष्ठ बताउँछन्। उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबिच भ्रातृत्वको सम्बन्ध भएकाले पनि नेकपामा विवाद हुँदा चीन सक्रिय भइरहेको हो। त्यस्तै, विश्व एक ध्रुवबाट बहुध्रुवतर्फ अघि बढिरहेका बेला नेपालमा पनि विभिन्न शक्तिहरूबिच प्रतिस्पर्धा भइरहेको छ। भारत र अमेरिकासँगै चीनको पछिल्लो सक्रियताको मुख्य कारण पनि त्यही भएको उनी बताउँछन्।  

कूटनीतिक मामिलाका जानकार शम्भुराम सिंखडा पनि चीन अहिले शान्त कूटनीतिमा सीमित नरहेको र पुराना शक्तिहरूसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताउँछन्। उनी चीनले आफ्नो हित संरक्षणका लागि सहयोग गर्ने, प्रतिस्पर्धा गर्ने र काउन्टर अट्याकका लागि पनि तयार हुने नीति अवलम्बन गरिरहेको बताउँछन्। नेपालको परराष्ट्र नीतिको सीमितताका कारण बाह्य हस्ताक्षेप बढ्दै गएको सिंखडाको भनाइ छ।  सभार नागरिक अनलाइन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x