३१ जेष्ठ २०८१, बिहीबार

थारु आन्दोलन जुरमुराउनु शुरु, न्यायका लागि आन्दोलन थारु अगुवा

एसीपी संवाददाता

३ फाल्गुन २०७६, शनिबार ०३:४६ मा प्रकाशित

फागुन ३ गते । टीकापुरमा भएको हिंसात्मक घटनापछि सामान्य बनेको थारू आन्दोलन फेरि जुर्मुराउन थालेको छ । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित ११ जना रिहाइसँगै १४ बुँदे माग राख्दै आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
मोर्चाका अध्यक्ष लक्ष्मण थारूले अनिश्चितकालीन आमरण अनशनबाट आन्दोलनको सुरुवात भएको बताएका छन् । उनी बिहीबारदेखि धनगढीको क्याम्पस चोकमा अनशन बसेका छन् । शुक्रबार कोणसभा आयोजना गरेका उनीहरूले हरेक दिन शान्तिपूर्ण प्रदर्शन गर्ने बताए । ‘अब जीवनमरणकै आन्दोलन हुनेछ,’ मोर्चाका अध्यक्ष थारूले भने, ‘यसलाई यति बलियो र शान्तिपूर्ण तथा दबाबपूर्ण बनाउँछौं कि जसबाट सरकार हाम्रा मागलाई सम्बोधन गर्न बाध्य हुनेछ ।’ उनले आफ्नो अनशन थारूका अधिकार प्राप्त नहुन्जेल नटुट्ने बताए ।
उनका अनुसार १४ बुँदे माग छ । ‘मुख्य तीनवटा माग हुन्,’ उनले भने, ‘पहिलो माग टीकापुर घटनापछि झूटा मुद्दा लगाएर फसाइएका रेशम चौधरीसहित ११ जना कारागारका बन्दीको रिहाइ नै हो ।’
दोस्रो, तत्कालीन गृह मन्त्रालयका सचिव देवीराम शर्माको प्रतिवेदन र संविधान संशोधनमार्फत थारू अधिकारको मुद्दा सम्बोधन हुनुपर्ने माग रहेको उनले बताए । थारूले माघ १४ मा सरकारलाई ज्ञापनपत्र बुझाएर आमरण अनशनसहित शान्तिपूर्ण आन्दोलनमा उत्रेको बताएका थिए ।
यसअघि काठमाडौं र धनगढीमा बौद्धिक समाज र अधिकारवादी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । ‘काराबासको बन्दी जीवनबाट मुक्त भएपछि एक वर्ष आफ्नो तयारी आन्दोलनलाई पुनः ब्युँत्याउनमा खर्चेको छु,’ उनले भने, ‘त्यसैले अबको आन्दोलन यसअघि जस्तो दबाउन सक्ने अवस्थाको हुनेछैन ।’ उत्कर्षमा पुगेको थारू आन्दोलन दबाउनकै लागि टीकापुरको हिंसात्मक घटना गराइएको उनले दाबी गरेको फागुन ३ गतेमा समाचार इ कान्तिपुरले प्रकाशित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x