चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार दिउँसो पार्टी सञ्चालन र सरकार सञ्चालनका बारेमा गोष्ठी

चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार दिउँसो पार्टी सञ्चालन र सरकार सञ्चालनका बारेमा गोष्ठी हुँदैछ । तर नेकपाको विदेश विभागलाई भने त्यसबारेमा जानकारी नै छैन । एमाले बिदेश बिभागलाई जानकारी छैन

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले गोष्ठीका बारेमा थाहा नभएको बताए । पहिले दुई पार्टीबीच अन्तरक्रिया गरी अनुभव आदानप्रदान गर्ने सहमति भएको उल्लेख गर्दै उपप्रमुख रिजालले शुक्रबारको गोष्ठीमा विदेश विभागका कसैलाई पनि नबोलाइएको जानकारी दिए । नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुन् । रिजालका अनुसार अन्तरक्रियामा सहभागी हुने नेताहरुको नामावली पार्टीको स्कुल विभागले तयार पारेको हो । अन्तरक्रियाबारे विदेश विभागलाई जानकारी नगराइएको र आमन्त्रणसमेत नगरिएको रिजालले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटी र नेकपाको केन्द्रिय पार्टी स्कुल विभागको संयुक्त आयोजनमा हुन लागेको गोष्ठीमा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेल लगायतका उच्च पदाधिकारीहरु सहभागी हुँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओलगायतका नेताहरुले कार्यक्रममा प्रशिक्षण दिने जनाइएको छ ।
नेकपा स्कुल विभागका उपप्रमुख वेदुराम भुसालका अनुसार विभिन्न ७ वटा समूहमा रहेर चिनियाँ कम्युनिष्ट पार्टीसँग अन्तरक्रिया कार्यक्रम हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ वर्ष पुगेको अवसरमा दुई देशका सत्तारुढ दलबीच पार्टी र देश सञ्चालनका बारेमा अनुभव आदानप्रदान हुन लागेको उपप्रमुख भुसालले जानकारी दिए ।
कोरोना महामारीका कारण प्रत्यक्ष अन्तरक्रिया हुन नसकेकाले भिडियोमार्फत बेइजिङबाट कार्यशाला सञ्चालन गर्न लागिएको हो । नेकपाका नेताहरु भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट अन्तरक्रियामा सहभागी हुनेछन् । सभार इकान्तिपुर



