३१ जेष्ठ २०८१, बिहीबार

धेरै कुराको बिचार गरेर पार्टी एकता भएको -अध्यक्ष दाहाल

एसीपी संवाददाता

४ फाल्गुन २०७६, आईतवार १४:१२ मा प्रकाशित

तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको एकतापछि पहिलो पटक संयुक्त रुपमा बाँकेमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण

बाँके, ४ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकता प्रधानमन्त्री बन्नको लागि नभएको बताएका छन । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको एकतापछि पहिलो पटक संयुक्त रुपमा बाँकेमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पद र प्रतिष्ठा प्राप्त गर्नको लागि पार्टी एकता नभएको प्रष्ट्याए ।

प्रधानमन्त्री हुनको लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यको लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होईन, यसमा कोही भ्रममा नपर्नुहोला ।,’अध्यक्ष दाहालले भने,‘धेरै कुराको बिचार गरेर पार्टी एकता भएको हो, नेपाली जनताको आवश्यकतालाई सम्वोधन गर्दै नेपाली कम्यूनिष्ट आन्दोलनको भविष्य सुदृढ गर्न र समृद्धि र समाजवादको मार्ग तय गर्नको लागि पार्टी एकता गरिएको हो ।’

‘एकताको भावनाको लागि भनेर त्यतिबेला आलोपालो प्रधानमन्त्री चलाउने भन्ने कुरा गरेका पनि थियौँ ।’, अध्यक्ष दाहालले भने,‘तर अहिले आउँदा आलोपालोले पनि जनतामा भ्रम हुने देखिएपछि आलोपालो पनि छोड्यौँ । पाँचवर्ष यहि सरकार जाओस् पार्टी र सरकार दुईटैलाई प्रभावकारी बनाउने उपाय सोचेका छौँ ।’दुई ठूला पार्टी एकता गर्ने कुरा सजिलो नभएको उल्लेख गर्दै उनले तीन महीनामा टुङ्ग्याउने भनिएको पार्टी एकताको काम सक्न दुईवर्ष लागेको बताए । दुई पार्टी मिलेकोले विभिन्न मतभेद हुनु स्वभाविक भए पनि धैर्यतका साथ एकताको कामलाई पार लगाउदै स्थानीय तहसम्मनै पार्टी एकता गरी जनतामा सकारात्मक सन्देश दिन सफल भएको उनको दावी थियो ।कम्युनिष्ट नेताहरूबीच नीति र नेतृत्व भएकै कारण एकता सम्भव भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर यस्तो देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको जिकिर गरे । अधिकांश समय तत्कालीन माओवादी र एमालेबीचको पार्टी एकताका विषयमा समय खर्चेका अध्यक्ष प्रचण्डले ०६३ सालमै फुलवारी बैठकमा माओवादीले देशमा धेरै कम्युनिष्ट धार हुनुहुँदैन भन्दै एक कम्युनिष्ट पार्टी बनाउन पार्टी एकीकरणको निर्णय गरेको स्मरण गरे । उनले भने, ‘एमालेसँग एकीकरणबारे धेरैलाई सिलगुडी र रोल्पाको छलफलबारे मात्रै थाहा होला । यस्ता बैठक दर्जनौं पटक भएर पार्टी एकता सम्भव भएको हो । त्यसैले यो एकता धेरै मजबुत छ । यो एकतालाई देश र जनताबीच भावनात्मक रुपमा बलियो बनाउनु पर्छ । पहिलो संविधानसभादेखिका पार्टी एकता प्रक्रियामा कुन दल ठूलो र कस्को हिस्सा ठूलो भन्ने भागवण्डा नमिल्दा सम्भव नभएको पनि उनले सम्झे । उनले प्रदेश ५ का जनता देशमै सबैभन्दा बढी परिवर्तन पक्षधर र अग्रगामी भएको दाबी गर्दै जनयुद्ध र जनआन्दोलनमा पनि यहीका जनताको सबैभन्दा धेरै योगदान गरेको चर्चा गरे । उनले एमसीसीबारे पार्टीले कार्यदल बनाएर अध्ययन गरिरहेकाले कार्यदलले दिएको प्रतिवेदनका आधारमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । देश हित विपरित काम पार्टीबाट नहुने भन्दै कार्यकर्तालाई आश्वास्त पारेका थिए ।नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा प्रदेश ५ का इन्चार्ज तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताले पार्टी एकताबारे धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रममा प्रदेश ५ का १२ जिल्लाका नेकपाका तीन हजारभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।सभार- काँचुली खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x