पत्रकारिताको १० महिने तालिम अनलाईनबाट

काठमाडौं, असार २३ । व्यावसायिक पत्रकारिता प्रशिक्षणका लागि चर्चित मुलुकको पहिलो संस्था नेपाल प्रेस इन्ष्टिच्यूट, काठमाण्डौले १० महिने पत्रकारिता तालिमको ३६औं समूह (ब्याच)को प्रशिक्षण यही असार १७ गतेदेखि सुरु गरेको छ ।
‘यस वर्षदेखि हामीले दूर शिक्षा प्रणालीको प्रयोग गर्दै प्रशिक्षण सुरु गरेका छौं, मुलुकको विभिन्न जिल्लाका २१ प्रशिक्षार्थी पत्रकार भर्ना भएर तालिम लिइरहेका छन्’ तालिम संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिनुभयो ।
यस तालिमको संरचना अनुसार पहिलो ६ महिना प्रत्यक्ष कक्षागत तालिम हुने र बाँकी ४ महिना कार्यक्षेत्रमा प्रयोगात्मक अभ्यास गराइने रहेको छ । प्रत्यक्ष तालिममा ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक ज्ञान दिइने पनि संयोजक काफ्लेले जानकारी दिनुभयो ।
जूम क्लाउड र माइक्रोसफ्ट टिम प्रयोग गरेर कक्षा सञ्चालन भइरहेको बताउँदै काफ्लेले तराई–पहाड सबै क्षेत्रबाट सहभागीहरु एकसाथ भर्चुअल कक्षामा भेलाभएर पढ्ने अवस्था सिर्जना गरिने भएकाले विद्यार्थीको रुचि बढेको बताउनुभयो ।
लामा–छोटा तालिम गरी करिब ५ हजार विद्यार्थीलाई प्रशिक्षण दिइसकेको एनपिआईले दूर शिक्षा प्रणालीबाट तालिम दिए पनि अन्तिम परीक्षाकालागि भने सहभागीलाई भौतिक उपस्थिति नै गराइने छ ।
नेपाल प्रेस इन्स्टिच्यूटले काठमाण्डौं बाहेक विराटनगर र नेपालगञ्जमा रहेका आप्mनो क्षेत्रीय कार्यालयहरुमार्फत् पनि पत्रकारिताकाका विभिन्न छोटो तथा लामो तालिमहरु दिंदै आइरहेको कुरा क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक मोहम्मद आरिफ अन्सारीले बताउनु भएकोछ ।



