दानी हरीशचन्द्रः अष्टधातुको अर्को घण्टा खोई ?

विनय त्रिपाठी
नेपालगञ्ज–९ हाल वा.नं.७ अन्तर्गत स्थित लोक भक्तेश्वर महादेव सिद्धम कठमहल मन्दिर रानी तलाउ बाँके सम्बत् १८०४ बि.सं.१८६१ मा स्थापित ऐतिहासिक मन्दिरको दुई वटा अष्टधातुको घण्टा मध्ये एउटा घण्टा बेपत्ता भएको देखिएको छ ।

उक्त मन्दिरको स्थापना कालमा राखिएको घण्टा लगभग २२ बर्ष पूर्व तत्कालीन मन्दिरको महन्त अरबिन्द मुनीको कार्यकालमा बेपत्ता पारिएको महन्त गंगादासले बताउनु भएको छ । अरबिन्द मुनिले आफनो मेहनत परिश्रम तथा भक्तजनहरुको श्रद्धा र भक्तीले जुटाई दीर्घ कालीन रुपमा मन्दिरको पूजा आजा होस भन्ने उद्देश्यले उक्त सम्पत्ती कुनै पनि किसिमले हक हस्तान्तरण नगरी सुरक्षित राखी आएको मन्दिरको सम्पत्ती निजको स्वास्थ्य खराब भएको अवस्थामा नेपालगञ्ज निवासी स्व.मेवालाल बनियाले आफनो नाममा दर्ता गराएको र निजको छोरा स्व.मनोहर लाल बनियाले आफनो नाममा नामसारी गराई निजले मन्दिर कै प्रांगडमा २०४० सालमा ९ कट्ठा १० धुर जग्गामा रहेको मन्दिर मध्ये आधी जग्गा स्व.मनोहर लाल बनियाले कब्जा गरी सो मा आफनो बाबुको नामबाट श्रीचन्द्र मेवालाल माण्टेशरी हाल हायर सेकेन्ड्री स्कूल स्थापना समेत गरेको कारण मन्दिरको स्थिती खराब भएको थियो । मन्दिर भित्र आर्थिक समस्या उत्पन्न भएको कारण मन्दिर भित्र आएका साधु महात्माको सेवा सत्कार कसरी गर्ने, के खुवाउने भन्ने चिन्ताले मुनी मन्दिरमा कमै बस्ने र प्रायः देव स्थल भ्रमण मै रहनु हुन्थ्यो, जसकारणले उहाँ नभएको मौका छोपी घण्टा माथि गिद्ध दृष्टि राखेका मानिसहरु मन्दिरको अष्टधातुको घण्टा बेपत्ता पार्न सफल भएको कुरा गंगादासले बताउनु भएको छ ।

शाके सम्बत १८०४ मा निर्मित अष्टधातुको २ वटा घण्टा (प्रति घण्टा ८४ धार्नी, २१० किलोग्राम) मध्ये एउटा घण्टा बेपत्ता भएको देखिएको कारण उक्त घण्टा को ले हिना मिना गरेको भन्ने कुरा यकीन हुन आएको छैन । उक्त घण्टा हराएको घटनाबारे प्रहरी, प्रशासन र पुरातत्व बिभाग लगायत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई २०६९ सालमा ज्ञापन मार्फत उजुरी समेत गरेको मन्दिरका महन्त गंगादासले बताउनु भएको छ, तर हाल सम्म उक्त घण्टाको प्रहरी प्रशासन द्वारा कुनै खोज तलाश नगरिएको गुनासो महन्तले ब्यक्त गर्दै दुई वटा अष्टधातुको घण्टा मध्ये हाल सम्म एउटा घण्टा मन्दिर मै सुरक्षित राखिएको जानकारी दिनु भएको छ ।

उक्त घण्टा श्री ३ कर्नलचीफ मन्त्रीबाट प्रदानित अष्टधातु अर्थात आठ वटा धातुबाट बनेको ऐतिहासिक धरोहर समेत रहेको देखिएको साथै घण्टामा श्री ३ कर्नलचीफ समेत लेखिएको देखिन्छ । महन्तको भनाई अनुसार उक्त घण्टा र मन्दिरको अचल सम्पत्ती कब्जा एवं हिनामिना स्व.मनोहरलाल बनिया समेतले गर्नु भएको बताउनु भएको हो ।

मन्दिरको करोणौं मूल्य पर्ने उक्त अष्टधातुको घण्टा खोज तलाशको लागि महन्त गंगादासले प्रहरी प्रशासन संग अपील गर्दै आए ता पनि बाँके प्रशासन मौन रही आएको छ । (क्रमशः)



