सरकारको आरडिटि प्रविधिमा बिश्वास थियो भने, सांसदहरुको कोरोना जाँचमा यो प्रविधि किन प्रयोग गरिएन ? – कोइराला
सुधान्सु कोईराला जिल्ला सदस्य नेपाली काँग्रेस बाँके

म एउटा आम नेपाली नागरिक हो तर साथ साथै यो देशको एउटा सचेत र जिम्मेवार नागरिक पनि हो । सरकारले गरेको हरेक राम्रो कामको पक्षमा उभिनु मेरो नैतिक जिम्मेवारी हो भने गलत कृयाकलापको पर्दाफास गरि समाजलाई सचेत गराउनु र सरकारलाई खबरदारी गर्नु पनि मेरो कर्तब्य हो ।
बिश्वका विकसित देशहरु नै अहिले कोरोनाबाट कसरी उन्मुक्ति पाउन सकिन्छ भन्ने मुद्दामा केन्द्रित भएर रातदिन नभनेर लागिपरेको अवस्था छ भने हाम्रा केही सत्ताधारीहरुलाई दशै आएको अनुभुति भै रहेको छ । क्वारेन्टाइनको नाममा नागरिकहरूको ज्यान लिने काम भैरहेको छ । क्वारेन्टाइनमा बस्नेहरु केही त त्यहीबाट कोरोना संक्रमण भएर त केही समयमा स्वास्थ्य उपचार नपाएर अकालै मृत्युको मुखमा पुग्न बाध्य भैरहेकाछन् ।
अब कुरा गरौ क्वारेन्टाइनको ब्यवस्थापनको बिषयमा जहाँ (कोभिड १९) को कुनै पनि मापदण्ड पूरा गरिएकै छैनन् । सरकारले नै बनाएको मापदण्ड उसैका केहि मतियारहरुबाट नै उल्लंघन भएको भेटिन्छ । अधिक्तम क्वारेन्टाइनको ब्यवस्थापन हेर्ने हो भने र अहिले सम्मको गतिबिधी हेर्दा लाग्छ त्यो क्वारेन्टाइनको नाममा कोरोना उत्पादन गर्ने कारखानाको रुपमा संचालन हुँदै आएका छन् । यो विषम परिस्थितिमा दुखःसुख गर्दै आफ्नो र परिवारको जीवन यापन गर्न भारतमा कमाउन गएका नेपालीहरु जेनतेन बोर्डर सम्म त आइपुग्छन् तर आएका ती नेपाली नागरिकहरूलाई स सम्मान र ब्यवस्थित तरिकाले उनको गाउँ घर सम्म पुर्याउनु आफ्नो जिम्मेवारी ठान्दैन सरकारले । अनि सरकार गैर जिम्मेवार र लापरबाह हँुदा जनताले दोब्बर तेब्बर भाडा तिर्न बाध्य हुन्छन् र साथै क्षमता भन्दा बढि यात्रु राख्दा सवारी दुर्घटना भएको खबर पनि हामीले सुन्दै र प्रत्यक्ष रुपमा देख्दै पनि आएका छोैं ।
स्वास्थ उपकरण खरिद गर्ने नाममा स्तरहिन र विश्व स्वास्थ संगठनबाट (WHO) मान्यता प्राप्त नभएका उपकरण खरिद गर्दै आफ्नो भुँडी भर्ने काममा ब्यस्त देखिन्छन् अहिलेको सरकारका केहि तत्वहरु । यदि सरकारको आर.डि.टि प्रविधिमा यति धेरै बिश्वास थियो भने सदनमा सांसद ज्युहरुको कोरोना जाँचमा यो प्रविधी किन प्रयोग गरिएन ? किन पि.सि.आर प्रबिधीबाट गरियो ? र यदि आर.डि.टि प्रविधि बिश्वस्निय छैन भने किन सर्वसाधारणको निम्ति यो प्रयोगमा ल्याइयो र निरन्तर खरिद प्रक्रियामा ब्यस्त छ सरकार ?
लोकतन्त्रमा कुनै पनि पार्टी सरकारमा आउन सक्छ तर सरकारमा आइसके पछि उसले सम्पुर्ण नागरिकलाई हेर्ने र गर्ने ब्यवहारमा समान्ता हुनु पर्छ । सरकारको कुनै कार्यकर्ता हुदैन सम्पुर्ण नागरिकको जिम्मेवारी नै उसको कर्तब्य बन्न जान्छ । एउटा अभिभावकको रुपमा उसले जनता र देशको हितमा काम गर्नु पर्ने हुन्छ । तर हामीले देख्दै आएका छोै यो सरकारले आफ्नो कार्यभार सम्हाले देखिनै विभिन्न काण्डमा मुछिदै आएको छ र हरेक पल्ट गल्ती स्विकारेर आफुलाइ सुधार गर्दै जनता प्रति उत्तरदायी हुनु खोज्नु कता कता दिन प्रतिदिन तानाशाहको चरित्र देखाउदै गएको छ । रास्ट्रबादी नेता बन्न चिप्ला भाषण र खोक्रो नाराले मात्र पुग्दैन, सबै भन्दा पहिला आफ्ना देशका सर्वसाधारण अन्यायमा परेका जो सुकैलाई न्याय दिन सक्ने र देशलाई अफ्ट्यारो परेको समयमा सम्पुर्ण जनता,राजनीतिक दल ,नागरिक समाज,बुद्धिजिवीहरुको समर्थनमा कठिन भन्दा कठिन अवस्थाको सामना गर्न सक्ने सरकारको खाँचो छ नेपाली जनतालाई । आजको आवश्यकता भनेको घर घरमा ग्याँसको पाइप जोड्ने देखि लिएर रेलवे र पानी जहाजको त होला तर त्यो भन्दा पहिला जनतालाई रोजगारको आवश्यकता छ जसको निम्ति हामीले अब कृषिमा क्रन्ति ल्याउन आवश्यक छ , प्राकृतिक सम्पदाको देशमा पर्यटन बिकासमा फड्को हन्न जरुरी छ,बिश्वमा जलश्रोतको दोश्रो धनी देश भनेर चिनिएको नेपालमा हाइड्रोमा बृहत लगानी गर्न अनिवार्य छ जसले गर्दा देशले आर्थिक क्रान्ति त गर्छ नै साथमा देश आत्मनिर्भर पनि बन्न पुग्छ ।
अब कोरोनाले भरिएको घाउमा मलहम लगाउनु को साथै कोरोनाको बहानामा फर्किएका नेपाली पौरखी हात लाई रोजगारको पनि ब्यवस्था पनि मिलाउ तिर अग्रसर बन सरकार ।



