अकरम खाँको गिरफ्तारीप्रति माहुरी–होमको आपत्ति, तत्काल निःशर्त रिहाइको माग
दिनेश ठाकुर नेपालगन्ज , कात्तिक १० — लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई प्रहरीले मध्यराति निवासबाट पक्राउ गरेको घटनाप्रति मधेस मानव अधिकार गृह (माहुरी–होम) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले खाँको गिरफ्तारीको भर्त्सना गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ।
माहुरी–होमका अध्यक्ष राम दयाल ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा खाँको गिरफ्तारीलाई गैरकानुनी र गुण्डाशैलीको संज्ञा दिँदै यस्तो कार्यले नागरिकको मौलिक अधिकारमाथि प्रहार गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिप्रति नागरिकस्तरबाट भइरहेको शान्तिपूर्ण विरोध र असहमतिलाई दबाउने उद्देश्यले सरकारले स्वेच्छाचारी कदम चालेको आरोप लगाइएको छ। संस्थाले यस घटनालाई वर्तमान सरकारको अधिनायकवादी तथा निरंकुश प्रवृत्तिको उदाहरणका रूपमा व्याख्या गरेको छ।
नेपालको संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने मौलिक हकको उल्लेख गर्दै माहुरी–होमले नागरिकले आफ्ना विचार र असहमति शान्तिपूर्ण रूपमा व्यक्त गर्न पाउनु लोकतान्त्रिक व्यवस्थाको आधारभूत मान्यता भएको जनाएको छ।
विज्ञप्तिमा संविधानको धारा १७ को उपधारा (२) का सम्बन्धित व्यवस्थाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै यस्ता अधिकारको प्रयोगकै क्रममा मध्यराति निवासबाट पक्राउ गरिनु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको जनाइएको छ।
त्यसैगरी, संविधानको धारा २० को उपधारा (२) मा रहेको पक्राउको कारणसहितको सूचना पाउने अधिकार र कानुनी प्रक्रियाको पालनासम्बन्धी व्यवस्थालाई जोड दिँदै संस्थाले पक्राउ प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाएको छ। माहुरी–होमका अनुसार कानुनी प्रक्रिया र नागरिकका मौलिक अधिकारको सम्मान नगरी गरिने यस्ता कार्यले विधिको शासनप्रतिको विश्वास कमजोर बनाउँछन्।
माहुरी–होमले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित स्थानीय प्रशासनसँग अकरम खाँको गिरफ्तारीबारे निष्पक्ष रूपमा समीक्षा गर्न र उनलाई तत्काल निःशर्त रिहा गर्न जोडदार माग गरेको छ।
संस्थाले लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण गर्न सरकारलाई जिम्मेवार बन्नसमेत आग्रह गरेको छ।


