आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरी सई न्यौपाने बालेनको घर पुगे, तर रूँदै फर्किए
प्रहरी नायब निरीक्षक (सई) सुशील न्यौपानले गए राति बालेनकी श्रीमती सबिना काफ्ले सवार गाडी जाँच गरेका थिए । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको पाइएपछि उनले काफ्ले सवार गाडी जाँच गरेका थिए ।
‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काइदप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।’
तर, ड्युटीमा रहेका न्यौपाने आफूले मादक पदार्थ सेवन नगरेको र कुनै प्रकारको दुर्व्यवहार नगरेको भन्दै आइतबार साँझ बालेन निवास पुगेका हुन् । उनी आमालाई साथमा लिएर बालेनको घर गएका थिए । तर, बालेन श्रीलंका उडिसकेका छन् । न्यौपाने घरमा आएपछि बालेनका आफन्तले उल्टै प्रहरी बोलाएका थिए । त्यसपछि बानेश्वर प्रहरीले न्यौपानेलाई बालेनको घरबाट नियन्त्रणको शैलीमा ल्याएको बानेश्वर वृत्तका एक प्रहरी अधिकारीले बताए ।
‘उहाँ (सई न्यौपाने) बालेनलाई भेट्न भनेर जानुभएको रहेछ तर, बालेनको परिवारले उल्टै प्रहरी बोलाइदियो । ल्याउने क्रममा उहाँ रुँदै हुनुहुन्थ्यो,’ स्रोतले भन्यो ।
न्यौपानले आफूले एक मिनेटजति मात्र गाडी रोकेको पनि बताएका छन् । तर, बालेनको सचिवालयले सडक किनारमा ७ मिनेट गाडी रोकिएको दाबी गरेको छ । अहिले न्यौपाने बानेश्वर वृत्तमै छन् ।


