ईश्वर पोखरेल र बादलका छोराको सुन तस्करसँग यस्तो कनेक्सन, अभियुक्तको वयानबाट खुल्यो पोल
काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका अभियुक्तले एमाले नेताका छोराहरु आफ्नो व्यवसायिक साझेदार भएको वयान दिएका छन् । उनको वयानले सुन तस्करीमा संलग्न अभियुक्तसँग एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष रामबहादुर थापा बादलका छोराको कनेक्सन खुलाएको हो ।
माओवादी नेतासँग पारिवारिक सम्बन्ध भएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ अहिले सुन तस्करी गरेको आरोपमा पक्राउ परेर हिरासतमा छन् । उनले सिआईबीसँगको वयानमा आफ्ना व्यापारिक साझेदारको नाम खुलाएका हुन् । जसमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष बादलका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको उल्लेख गरेका छन् । तेस्रो साझेदार रामेछापका किशोर बस्नेत रहेको उनले खुलाएका छन् ।
आफूलाई अप्ठेरो पर्दा साझेदारहरुले सहजीकरण गर्ने गरेको दावाले बयानमा भनेका छन् । दावासँग कनेक्सन देखिएका स्वराज र प्रतीकको सुन तस्करीमा भने संलग्नता पुष्टि भइसकेको छैन । वयानमा पोलिएपछि उनीहरुविरुद्ध प्रमाण जुटाउन सुरु गरिएको सिआईबीका एक उच्च अधिकारीले बताए । तेस्रो साझेदार बस्नेत भने तस्करीमा प्रत्यक्ष संलग्न नै रहेको अनुसन्धानले देखाएको ती अधिकारीको दाबी छ ।
अनुसन्धानमा उनले तस्करीको सुन गाल्ने कारखाना व्यवस्थापन गर्नेदेखि सुन गाल्ने उपकरण खरिदमा समेत सहयोग गरेको देखिएको छ । बस्नेत फरार छन्, उनको खोजी भइरहेको ती अधिकारीले बताए । यसअघि सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराका बाबुछोराको कनेक्सन देखिसकेको छ । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो पार्टीका नेतामाथि एक्सन लिन हच्किएका छन् । जोगाउन लागिपरेका छन् । यो समाचार नेपाल पाना बाट ।


